आईपीएलमा कीर्तिमानी ब्याटिङमा मुम्बईको हार, फाइनलमा चेन्नईसंग गुजरातको भेट पक्का

जेठ १३, अहमदाबाद । गुजरात टाइटन्सले आईपीएल २०२३ को फाइनलमा स्थान सुरक्षित गरेको छ । शुक्रवार राति अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिएको क्वालिफायर–२ प्रतिस्पर्धामा गुजरातले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गरेको हो ।

यो प्रतिस्पर्धामा मुम्बईले जीतका लागि २३४ रनको विशाल पाएको थियो, तर यो टीम १८.२ ओभरमा १७१ रनमै समेटियो ।

अब भोलि आईतबार राति खेलिने फाइनल खेलमा गुजरात टाइटन्सको सामपना चेन्नई सुपर किङ्ससंग हुनेछ । गुजरातको यो शानदार जीतको हीरो शुभमन गिल रहे, जसले १२९ रनको आकर्षक इनिङ खेले ।

मुम्बई इन्डियन्सको ब्याटिङको कुरा गर्ने हो भने सूर्यकुमार यादवले मात्र उत्कृष्ट खेले । उनले ३८ बलमा ६१ रन बनाए । यद्यपि, गिलको अगाडि सूर्यकुमारको यो इनिङ फिका सावित भयो । सूर्यकुमार बाहेक तिलक वर्माले १४ बलमा ४३ रनको योगदान दिए भने क्याम्रुन ग्रीनले ३० रन बनाए । उनीहरुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

गुजरात टाइटन्सको तर्फबाट तिब्र गतिका बलर मोहित शर्माले २।२ ओभरमा १० रन दिएर पाँच विकेट लिए भने मोहम्मद शमी तथा राशिद खानले समान दुई विकेट लिए ।

वर्षाका कारण आधा घण्टा ढिलो प्रारम्भ भएको यो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले ६।२ ओभरमै ५४ रन बनाएको थियो । विकेटकीपर ऋद्धिमान साहा तथा शुभमन गिलको ओपनिङ जोडीले उत्कृष्ट सुरुवात दिलाएको हो । साहा १८ रन बनाएर आउट भएपछि गिल र साई सुदर्शनले इनिङलाई अघि बढाए । त्यसक्रममा गिलले आफ्नो उत्कृष्ट फर्मलाई जारी राख्दै ३२ बलमै अर्धशतक पूरा गरे ।

अर्धशतक पूरा गरेपछि गिलले छक्काको वर्षा गराउन थाले । गिलले आकाश मधवालको एउटा ओभरमा तीन छक्का प्रहार गरे भने १३ औं ओभरमा पीयुष चावलाको बलमा पनि दुई छक्का र एक चौका प्रहार गरे । गिलले क्याम्रुन ग्रीनको बलमा एक रन लिएर आफ्नो शतक पुरा गरे । उनले ४९ बलमा शतक बनाए, जसमा आठ छक्का तथा चार चौका समावेश छन् ।

जारी आईपीएलमा शुभमन गिलको यो तेस्रो शतक हो । यसअघि उनले सनराइजर्स हैदराबाद तथा रोयल च्यालेञ्जर्स बेंग्लोरविरुद्ध शतकीय इनिङ खेलेका थिए ।

संम्बन्धित समचार

Leave a Reply