माघ ९, काठमाडौं । पाँच पटकका फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनमा रहँदा कर छलेको स्विकारेका छन्।
उनलाई २३ महिना जेल र एक करोड ६६ लाख पाउन्ड जरिवाना गराईएको छ। रोनाल्डोले कर छलेको स्वीकारेपछि जरिवानाबापत एक करोड ६६ लाख पाउन्ड तीर्न गरिएको प्रस्ताव स्विकारेका थिए।
स्पेनमा दुई वर्षभन्दा कम जेल सजाय भएको अवस्थामा अनिवार्य जेल बस्नु पर्दैन। स्पेनिस क्लब रियल म्याड्रिडका लागि करिब ९ वर्ष खेलेपछि गत सिजनको अन्त्यमा उनी इटालिन क्लब युभेन्ट्समा आबद्ध भएका थिए। समाचारहरुमा जनाईएअनुसार सन् २०१० देखि २०१४ को बीचमा रोनाल्डोले कर छलेका थिए।
फोर्ब्सका अनुसार रोनाल्डो सबैभन्दा धनी खेलाडीको सुचीमा तेस्रो स्थानमा पर्छन्। उनको वार्षिक कमाई १० करोड ८० लाख अमेरिकी डलर छ। एक अमेरिकी महिलाले बलात्कारको आरोप लगाएपछि रोनाल्डो अहिले निकै विवादमा छन्।
कर छलीमा यसअघि लियोनल मेस्सी पनि मुछिएका थिए। उनलाई पनि जरिवाना र जेल सजाय सुनाईएको थियो।