पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप

जेठ १३,काठमाडौँ । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै विरोध गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् । प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ ।

अहिले कोशी सभा सचिवालय अगाडि झडप भइरहेको छ । विराटनगरको स्थिति तनावग्रस्त छ । प्रदर्शन स्थलबाट किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई लगायतलाई प्रहरीले पक्राउ गरेको छ । राई पक्राउ परेसँगे पक्राउ पर्नेको सङ्ख्या २६ पुगेको पहिचानवादीहरूले बताएका छन् ।

गएको पुस १७ गते प्रदेशको नामाकरणपछि प्रदेश सभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेश सभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

आज दिउँसो २ बजेका लागि प्रदेश सभा बैठक डाकिएको छ । पहिचानवादीहरूले पनि प्रदेश सभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेका छन् । आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेश सभा परिसर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply