४४ वटा संस्थानमा सरकारको ६ खर्ब १८ अर्ब रुपैयाँ लगानी

जेठ १४,काठमाडौँ । सरकारी स्वामित्वका संस्थानमा सरकारको लगानी छ खर्ब रुपैयाँ नाघेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार सरकारले ४४ वटा संस्थानमा छ खर्ब १८ अर्ब रुपैयाँ लगानी गरेको छ । ४४ वटा संस्थानमध्ये २५ वटा संस्थान नाफामा गएको पनि उनले जानकारी दिए ।

तर छ खर्ब रुपैयाँ लगानी र २५ वटा संस्थान नाफामा गए पनि एक वर्षमा सरकारलाई भने जम्मा एक दशमलव १६ प्रतिशत अर्थात् छ अर्ब १६ करोड रुपैयाँको हाराहारीमा मात्रै लाभांश प्राप्त भएको छ । संस्थानहरूको कुल सञ्चालन आय ३६ दशमलव दुई प्रतिशतले बढेर पाँच खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।

प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका र सार्वजनिक क्षेत्रमा राख्न आवश्यक नभएका संस्थाको पहिचान गरी थप पुँजी प्रविधि र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन हुन आवश्यक देखिएको अर्थमन्त्री महतले बताए ।

आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्रीले सन् २०२३ मा विश्वको अर्थतन्त्र नै समस्यमा परेकाले त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको बताए । विश्व बजारमा पेट्रोलियम पदार्थ, खाद्यान्न तथा कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण पनि समस्या देखिएको उनले बताए ।

बाह्य क्षेत्रमा सुधार भएर शोधनान्तर स्थिति बचतमा, विदेशी मुद्राको सञ्चिति बढेको, पर्यटन आवागमन बढेकोलगायत अर्थतन्त्रमा सकारात्मक सङ्केत पनि देखिन थालेको उनले बताए ।

संम्बन्धित समचार

Leave a Reply