माघ १०,काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नेपाली सेनालाई दिने छलफल थालेको छ ।
इटालियन ठेकेदार कम्पनी सीएमसीले काम छाडेर हिँडेपछि सरकारले ठेक्का तोड्ने घोषणा गरिसकेको छ । यद्यपि यसले कानुनी प्रक्रिया पूरा गर्न केही दिन लाग्छ ।
अब बाँकी काम कसरी गराउने भनेर छलफल थालेको सरकारले सेनालााई पनि विकल्पमा राखेको छ । नयाँ ठेकेदार छनोट गरेर काम अघि बढाउनु अर्को जोखिम हुने भन्दै नेपाली सेनाबाटै काम सम्पन्न गराउने छलफल सुरु गरेको हो ।
‘मेलम्ची उपत्यकामा काम गर्न सहज छैन । सुरुङको सुरक्षा संवेदनशीलतालाई पनि हामीले ध्यान दिनुपर्छ । फेरि हामीलाई छिट्टै काम सक्नुपनि छ’, खानेपानी मन्त्रालयका एक अधिकारीले भने, ‘सबै पक्षलाई हेरेर नेपाली सेनालाई नै अघि सारौं भन्ने कुराकानी राजनीतिक तहमा भएका छन् ।’
यसमा आयोजनासम्बद्ध नेपाली अधिकारीहरु पनि सकारात्मक देखिएका छन् । तर, दातृ निकाय एशियाली विकास बैंक ९एडीबी० लाई मनाउन भने सजिलो छैन । किनकी दातृ निकायहरुले सुरक्षा निकायमार्फत आयोजनाको काम गराउँदैनन् ।
एडीबी सार्वजनिक खरिद ऐनअनुसार नै नयाँ ठेक्का लगाएर काम अगाडि बढाउने पक्षमा छ ।
अधिकारीहरुकाअनुसार यदि सरकारले सेनालाई नै काम गराउने हो भने एडीबीलाई विदा गरेर आयोजनाको बाँकी खर्च सरकार आफैंले ब्यहोर्नुपर्ने पनि हुनसक्छ ।
यद्यपि यसबारे सरकार कुनै निर्णयमा पुगिसकेको छैन र दातृ निकाय एडीबीसामू पनि आयोजना कसरी अगाडि बढाउने भन्ने ठोस प्रस्ताव गएको छैन ।