जेठ २७,काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आजका खेलसँगै यो सिजनको लिग सकिनेछ ।
दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र मनाङबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । मछिन्द्र लिगको उपविजेता बनिसकेको छ । मनाङ २५ खेलमा ३२ अंकका साथ आठौं स्थानमा छ ।
रंगशालामा हुने आजको दोस्रो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र थ्री स्टारबीचको खेल बेलुका साढे ५ बजे सुरु हुनेछ । जावलाखेल २५ खेलमा ३७ अंकका साथ चौंथो स्थानमा छ । थ्री स्टारलाई रेलिगेसनबाट जोगिन आजको खेल निक्कै महत्वपूर्ण छ । थ्री स्टारलाई आजको खेलमा जित या बराबरी आवश्यक छ । उसको २५ खेलमा २९ अंक छ ।
थ्री स्टार तालिकाको १३ औं स्थानमा छ । थ्री स्टारले रेलिगेशन जोगाएमा विभागीय क्लब एपीएफ रेलिगेशनमा पर्ने छ । यस्तै च्यासल मैदानमा संकटा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । संकटा र एनआरटीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । संकटा २५ खेलमा ३१ अंक जोडेर नवौं स्थानमा छ । एनआरटी २५ खेलमा ३३ अंक जोडेर सातौं स्थानमा छ । हिजो भएको खेलमा च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग हार बेहोरेको खुमलटार रेलिगेसनमा परेको छ ।