भिटोफद्धारा बागलुङको दुई गाउँको पर्यटन प्रवद्र्धन शुरु

Post Thumbnail

माघ ११,बागलुङ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले बागलुङ काठे खोला गाउँपालिका–४ र ५ का दुई गाउँको पर्यटन प्रवद्र्धन शुरु गरेको छ ।

पर्याप्त सम्भावना रहेर पनि पर्यटकीय विकासका दृष्टिले अपेक्षित विकास हुन नसकेको हुँदा मञ्चले गाउँका सुन्दरता र संस्कृतिलाई पर्यटनसँग जोड्दै घरवास कार्यक्रमको विकास गर्ने लक्ष्यका साथ प्रवद्र्धन गर्न लागेको हो ।

भिटोफ गण्डकी प्रदेश संस्थापक अध्यक्ष तारानाथ पहारीले प्रवद्र्धनलाई लक्षित गरी पर्यटन व्यवसायी एवं सञ्चारकर्मी समेतको टोलीले आजदेखि तीन दिनसम्म उक्त क्षेत्रको अध्ययन अवलोकन भ्रमण गर्न लागिएको जानकारी दिए ।

“त्यहाँका प्राकृतिक सुन्दरता र साँस्कृतिक पहिचानलाई पर्यटन बजारमा ल्याउने उद्देश्यका साथ अवलोकन भ्रमण कार्यक्रम आयोजना गरिएको हो,” उनले भने, “यस क्रममा काठेखोला गाउँपालिका–४ स्थित पर्यटकीय गाउँ शिवधुरी र वडा नं–४ स्थित फापरखेतमा पुगी त्यहाँको पर्यटकीय आकर्षणलाई स्थलगत अवलोकनका साथै प्रचारप्रसार गरिने छ ।”

शिवधुरी बागलुङको धार्मिक एवं सांस्कृतिक रुपमा पनि अत्यन्त महत्वपूर्णस्थल मानिन्छ । त्यहाँ पुगी सकेपछि पर्यटकले रमणीय गाउँका साथै ढकमक्क ढाकिएको लालीगुराँसको जङ्गल, आँखै अगाडि देखिने अन्नपूर्ण, धवलागिरिलगायत हिमालको दृश्य एक साथ अवलोकन गर्न पाउँछन् ।

शिवधुरीमा पर्यटकलाई लक्षित गरी १० वटा घरमा घरवास पनि सञ्चालन गरिएको छ । घरवासमा स्थानीय परिकारको स्वाद लिन पाइनुका साथै विभिन्न संस्कृतिको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै फापरखेत गाउँ मगर संस्कृतियुक्त गाउँ हो । पर्यटकीय विकासलाई लक्षित गरी उक्त गाउँका १२ वटा घरमा घरवास शुरु भइसकेको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए ।“फापरखेत पुग्ने पर्यटकले त्यहाँका रमणीय प्राकृतिक दृश्य नियाल्न पाउँछन् नै, त्यसमा पनि मगर संस्कृतिका जीवन्त पक्षले जो कोहीलाई लोभ्याउँछ,” उनले भने ।
नेपाल सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको अवस्थामा नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनले नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउनमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष पौडेलको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षका रुपमा लिएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए ।

आन्तरिक पर्यटनका दृष्टिले वागलुङ जिल्ला पनि एक आकर्षक गन्तव्य भएको बताउँदै उनले यस किसिमका प्रवद्र्धन कार्यक्रमले जिल्लाको समग्र पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने धारणा व्यक्त गरे ।

“गण्डकी प्रदेश सरकारले सन् २०२२ मा प्रदेशमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिरहेको अवस्थामा यस किसिमका पर्यटकीय गतिविधि बढ्नु आवश्यक छ,”– उनले भने ।

यी ठाउँको प्रवद्र्धनसँगै मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडरको सङ्गममा अवस्थित बागलुङको कालिका मन्दिरबाट पश्चिमी क्षेत्रका भकुण्डे, गाजादह, झुलेनीको धुरी, संसारकोटको धुरी लगायतका स्थलको पनि सँगसँगै प्रचारप्रसार एवं विकास हुने विश्वास लिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस