ताप्लेजुङको मेहेलेमा पहिरो: बाबुछोराको ज्यान गयो, एक जना घाइते

Post Thumbnail

असार ४,काठमाडौँ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहान पहिरो जाँदा बाबु छोराको ज्यान गएको छ । एक जना घाइते भएका छन् । पहिरोमा परि केशरबहादुर राई र उनका छोरा सुरेश राईको ज्यान गएको हो । यस्तै, राजकुमार राई घाइते भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

पहिरोमा बेपत्ता भएका केशरबहादुर मृत भेटिएको र घाइते भएका सुरेशको उपचार लागि लैजाँदै गर्दा ज्यान गएको हो । घाइते राजकुमारलाई उपचारका लागि अस्पताल लैजान समस्या भइरहेको लिम्बूले बताए।

यस्तै, शनिवार राति गएको पहिरोमा परि बेपत्ता भएका मेहेलेका एकै घरका तीन जना अझै सम्पर्कविहीन छन् । मेहेले भालुखोपका भगिमायाँ बुढाक्षेत्री, उनकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ज्वल बुढाक्षेत्री पहिरोमा बेपत्ता भएका हुन्। निरन्तर वर्षा भइरहेका कारण बेपत्ताहरुको खोजी गर्न समस्या भएको लिम्बूले बताए । पहिरोमा बेपत्ता भएका मेहेले भालुखोपका गणेश तामाङको भने शव फेला परिसकेको छ ।

मेहेलेमा शनिवार बेलुकादेखि सुरु भएको वर्षा अझै रोकिएको छैन । यहाँका प्रायजसो सबै स्थानीय आफ्नो घर छाडेर अन्यत्र सरेका छन् तर सुरक्षित भनिएकै ठाउँमा पनि वर्षा भइरहेका कारण जोखिम रहेको स्थानीयले बताएका छन् ।

ताप्लेजुङको मेहेलेसहित सुरुम्खिम, खेवाङ, पेदाङलगायतका पूर्वी क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ । मेहेलेमा मात्रै पहिरोले छ वटा घरमा पूर्णरुपमा क्षति पुर्याएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस