काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ १०, आईतबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार १०,काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ। आइतबार राष्ट्रिय सभागृहमा उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डङ्गोलले सार्वजनिक गर्नुभएको बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार बजेट नियोजन गरिएको छ।

कामपाले चालु आवका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ को बजेट विनियोजन गरेको थियो। चालु आवको तुलनामा आगामी आवको बजेट करिब १४ करोडले बढी हो।

आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिकता साथ बजेट विनियोजन गरिएको छ। जसअन्तर्गत पूर्वाधारमा सबैभन्दा धेरै सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा एक अर्ब ३२ करोड र स्वास्थ्यमा ९२ करोड ६६ लाख ४४ हजार बजेट विनियोजन गरिएको छ।

बजेटमा भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयले समेटिएका छन्। आगामी आर्थिक वर्षका लागि महानगरलाई सङ्घीय सरकारबाट दुई अर्ब १४ करोड ३१ लाख प्राप्त भएको छ ।

कामपाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि तीन अर्ब ८० करोड विनियोजन गरेको छ। महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि दुई अर्ब विनियोजन गरिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस