माघ १३, बुटवल । आफ्ना नेताहरुको नाममा रहेका अस्पतालबारे सरकारको निर्णयविरुद्ध संघीय संसद्मा दबाब दिइरहेको नेपाली कांग्रेसले प्रदेशमा पनि सोही प्रकृतिको दबाब अभियान थाल्ने तयारी गरेको छ।
प्रदेश ५ प्रदेश सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद् वसिउद्दिन खाँले पूर्वप्रधानमन्त्री तथा पार्टी सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको अपमान गर्ने प्रयास भएको बताए।
‘सरकारले या त ती निर्णयहरु फिर्ता लिनुपर्छ, उनले भने–होइन भने हामी प्रदेशमा पनि आन्दोलन थाल्नुपर्ने हुन्छ, हामी सदनबाटै आन्दोलन गर्न बाध्य हुनेछौं।’
शुशील कोइराला क्यान्सर अस्पताल र जिपी कोइराला श्वासप्रश्वास केन्द्रबारे सरकारले गरेको निर्णय नसच्याए प्रदेशसभा बैठक अवरुद्ध गर्ने उनले चेतावनी दिए।
खाँले गिरिजाप्रसाद कोइराला र सुशील कोइराला नेपाली कांग्रेसका मात्र नभएर देशकै नेता भएको भन्दै उनिहरुका नाउमा सञ्चालीत अस्पतालहरु बन्द गर्ने सरकारको निर्णय सच्याउन माग गरे।
उनले प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा सञ्चालित अस्पताल बन्द गर्ने निर्णय तत्काल नसच्याए कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेर सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।
आफ्ना समस्या राखेकै भरमा प्रदेशसभा सचिवालयले मर्यादापालकलाई कार्वाही गरेको घटनाप्रति आपत्ति जनाउदै सांसद खाँले त्यसबारे सदनलाई जानकारी गराउन माग गरे ।
यस्तै विशेष समय लिएर बोल्दै बर्दियाका सांसद दीपेश थारुले सदनमा आफुहरुले उठाएका माग र समस्याहरुको सम्बोधनमा प्रदेश सरकार गम्भीर नदेखिएको बताए। थारुले सांसदहरुले संसदमा पटक÷पटक आवाज उठाएपनि समस्या समाधान नभएको गुनासो गरे।