घोराही सिमेन्टको आईपीओ फेरि खुल्ने, आवेदकले लगानी झिक्न वा थपघट गर्न पाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ २०, बुधबार (१० महिना अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

असार २०,काठमाडौँ । धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओमा परेको फर्जी आवेदनको अनुसन्धान प्रहरीमार्फत अघि बढाउने र आईपीओ पुनः खोल्न सक्ने निर्णय गरेको छ । धितोपत्र बोर्डको यो निर्णयसँगै अब घोराही सिमेन्टको आईपीओ भरेकाहरूले आवेदन रद्द गरेर खातामा पैसा फिर्ता गर्न सक्नेछन् भने आवेदन जारी राख्न वा थपघट गर्न पनि पाउनेछन् ।

बोर्डका अनुसार आवेदन दिएकाहरूले लगानी झिक्न वा थपघट गर्न तीन दिनको समय पाउने छन् । कम्पनीले तोकेको परिमाणमा आईपीओमा आवेदन नपरेमा यसअघि १५ दिनको समय थप हुने व्यवस्था रहेकोमा घोराही सिमेन्टले भने जम्मा सात दिनमात्रै थप गर्न पाउने भएको छ । यो कम्पनीले यसअघि पाँच दिन आवेदन खुला गरिसकेकाले अब सात दिनमात्रै खुलाउन पाउने बोर्डले जनाएको छ ।

यस्तै बोर्डले कम्पनीको आईपीओमा आफ्नो खातामा भएको भन्दा धेरै रकमको आवेदन दिएकालाई भने जालसाजी मुद्दामा छानबिन गर्न प्रहरीलाई पठाउने भएको छ । केही व्यक्तिले खातामा पैसा नै नभई १० लाख कित्ताका दरले आवेदन दिएर घोराही सिमेन्टमा निकै धेरै आवेदन परेको भ्रम फैलाएका थिए ।

घोराही सिमेन्टले गएको जेठ ३२ गते चार सय ३५ रुपैयाँ प्रतिकित्ताका दरले प्रिमियम मूल्यमा ६९ लाख ११ हजार छ सय ७० कित्ता शेयरको आईपीओ जारी गरेको थियो । तर आईपीओको आवेदनमा बदमासी भएको भन्दै धितोपत्र बोर्डले यही असार ४ गते कम्पनीको शेयर निष्कासन प्रक्रिया तत्काललाई रोक्का गरेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस