सिंहदरबार गेटैमा खुल्दैछ ११ तले होटेल, गुप्तचर मुख्यालय जोखिमममा

माघ १४, काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको पश्चिम गेटको छेउमा ११ तले होटेल खुल्दै छ।

होटेलबाट छेउमा रहेको राष्ट्रिय अनुसन्धान विभागको सम्पूर्ण कार्यालय निगरानी गर्न सकिन्छ भने सिंहदरबार नै ‘सुरक्षा जोखिम’मा परेको छ।

होटेल निर्माण सुरु भएलगत्तै राष्ट्रिय अनुसन्धान विभागले तत्काल रोक्नुपर्ने भन्दै गृह मन्त्रालयमार्फत सरकारलाई प्रस्ताव गरेको थियो । सिंहदरबारका अन्य निकायले पनि यसले असुरक्षा निम्त्याउने आवाज उठाएपछि केही समय निर्माण रोकियो ।

तर, निर्माणकर्ता विशाल पण्डितले पछि लबिङ गरेर होटेल निर्माणलाई निरन्तरता दिएका थिए । अहिले होटेल सञ्चालनको तयारी भइरहेको छ ।

होटेल सञ्चालनको तयारी भइरहँदा प्रमुख प्रशासनिक केन्द्रमा निम्त्याउन सक्ने जोखिमप्रति सुरक्षाका अधिकारी चिन्तित छन् । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी सिंहदरबारको गेटमै अग्लो भवनमा होटेल सञ्चालन हुनु गलत भएको बताउँछन् ।

‘यो विषयमा हामी पनि चिन्तित छौँ,’ उनले भने, ‘धेरै पहिले त्यो होटेल सञ्चालनका लागि अनुमति दिएको बुझिएको छ, सिंहदरबारजस्तो संवेदनशील ठाउँको अगाडि कसरी अनुमति दिइयो? त्यो गलत छ।’

होटेलबाट राष्ट्रिय अनुसन्धान विभागभित्र भइरहेका गतिविधिहरू निगरानी गर्न सकिन्छ । यसबाट काम गर्न निकै गाह्रो हुने विभागका अधिकारीहरू बताउँछन् ।

‘होटेलमा विदेशी गुप्तचरदेखि आतंककारीसमेत बस्न सक्छन् । उनीहरूले देशको मुख्य प्रशासनिक केन्द्रको सजिलै निगरानी र अवलोकन गर्न सक्छन् । होटेलबाट सिंहदरबारलाई ठूलो जोखिम हुन सक्छ,’ अनुसन्धानका अधिकारी भन्छन् । महानगरपालिकाले सिंहदरबारको गेटमा ११ तले होटेल बनाउने स्वीकृति दिनु नै गलत भएको उनीहरूको भनाइ छ।

होटेल निर्माणकर्ता पण्डित पहुँचवाला भएकाले आफूहरूले रोक्न नसकेको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । पण्डित मेडिकल व्यापारी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका ठूला ठेक्का सधैँ उनले हात पार्छन् । त्यही आधारमा राजनीतिक पहुँच बढाउँदै लगेका छन्।

विगतमा दरबार तथा सिंहदरबारवरिपरि अग्ला भवन बनाउन नपाइने कानुन थियो । पछिल्लो समय त्यस्ता कानुन संशोधन गरिएका छन् । तर, सुरक्षाको दृष्टिकोणले सरकारले यस्ता भवन निर्माण गर्न स्वीकृति नदिन सक्ने भएपछि दबाबमा भवन निर्माण तथा होटेल सञ्चालन गर्न दिन लागिएको छ।

संम्बन्धित समचार

Leave a Comment