साउन ५,धादिङ । बैरेनी प्रहरीले त्रिशुली नदीमा अवैद्य रुपमा बालुवा उत्खनन गर्दै गरेको अवस्थामा बिहिबार गल्छी–४ मास्टारबाट एक स्काभेटर नियन्त्रणमा लिएको छ । जिल्ला स्तरीय समन्वय तथा अनुगमन समितिले असार १ गतेदेखि भाद्र मसान्तसम्म नदीजन्य सामाग्री उत्खनन तथा संकलन गर्न रोक लगाउने निर्णय गरेको थियो । निर्णयविपरित त्रिशुली नदीमा बालुवा उत्खनन गर्ने स्काभेटर क्रसर व्यवसायी केशव अधिकारीको भएको जिल्ला प्रहरी कार्यालय धादिङले अनलाइनकेन्द्रलाई जानकारी दिएको छ ।
नियन्त्रणमा लिइएको स्कोभटर गल्छी प्रहरी कार्यालयमा रहेको गल्छी प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक दिपेन्द्र साहले जानकारी दिए । स्काभेटर चालक भने भागेको प्रहरीले जानकारी दिएको छ । अबैद्य रुपमा नदीजन्य सामाग्री उत्खनन गर्ने व्यक्ति तथा उद्योगलाई निश्चित जरिवानासहित कारवाही गरिने प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले अनलाइनकेन्द्रलाई बताए । उनले भने–’हामीले कारबाहीको सन्दर्भमा एउटा कार्यविधि तयार गरेका छौँँ, अवैद्य रुपमा उत्खनन गरिरहेको अवस्थामा कुनैपनि सवारी साधन वा मेसिन फेला परेपछि प्रहरी नियन्त्रणमा रहने र सम्बन्धित स्थानीय तहमा बुझाउने भन्ने हाम्रो निर्णय छ, हामी त्यसैअनुसार गछौँ ।’
अवैद्य रुपमा नदीजन्य सामाग्री उत्खनन गर्ने व्यक्तिलाई पालिकाले नै कारबाही गर्ने गैह्रेले जानकारी दिए । यसो त त्रिशुलीमा अवैद्य रुपमा नदीजन्य सामाग्रीको उत्खनन निरन्तर रुपमा भैरहेको छ । जिल्ला प्रशासन,सम्बन्धित स्थानीय तह,जिल्ला समन्वय समिति र प्रहरी प्रशासन यस विषयमा मुकदर्शक जस्तै हुँदै आएको विगतको घटनाबाट प्रष्ट हुन्छ । विगतमा पनि अवैद्य रुपमा बालुवा तथा नदीजन्य समाग्री उत्खनन गर्ने व्यक्ति तथा सवारीसाधन नियन्त्रणमा लिने र छोड्ने धादिङका पालिका र प्रशासनको नियती जस्तै भएको स्थानीयले गुनासो गर्दै आइरहेका छन् ।