खलङ्गाको डिपोमा १ हजार ७ सय २१ क्विन्टल नुन मौज्दात: साल्ट ट्रेडिङ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण ७, आईतबार (९ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन ७,काठमाडौँ । जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । खलङ्गाको डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।

सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख मल्लले भने, ‘जिल्लामा नुनको अभाव हुने छैन । अबको केही सातापछि यहाँका आठवटै पालिकाका वडाबाटै नुन वितरण गरिने छ । वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ ।’

गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपभोक्तालाई नुन वितरण भइरहेको समयमा केही व्यक्तिले भाडँभैलो गर्दै डिपोमा तोडफोड समेत गरेका थिए । गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा सदरमुकाम डिपोमा नागरिकको भिड लाग्ने गरेको कार्यालयले जनाएको छ । गत आव २०७९/०८० मा जुम्ला सदरमुकामसहित तीनवटै डिपोका लागि चार हजार दुई सय क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ । यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट तीन सय २० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए ।

तिला गाउँपालिकाका नौवटै वडामा नुन ल्याउनका लागि कार्यापालिकामा छलफल गरेर सम्बन्धित वडाध्यक्षको नेतृत्वबाट वडावाटै नुन वितरण गरिने तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए । वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला–१ का वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस