नेपालले जित्यो ओडीआई श्रृंखला, कप्तान पारस नायक

माघ १४,काठमाडौँ । दुबईमा जारी एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो तथा निर्णायक खेलमा जित हात पार्दै नेपालले श्रृंखला आफ्नो नाममा पारेको छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो र तेस्रो खेलमा शान्दार जित दर्ता गर्न सफल रह्यो ।

नेपालको जितमा ब्याटिङतर्फ कप्तान पारस खड्का नायक रहे । २ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा पारसले १ सय ९ बलको सामना गर्दै १ सय १५ रन जोडे । ओडीआईमा पहिलो शतक बनाउने नेपाली समेत बनेका पारसको इनिङ्समा १५ चौका र १ छक्का सामेल थियो ।

१९ रनको क्षतिमा ओपनर विनोद भण्डारीलाई गुमाएपछि क्रिजमा आएका पारसले उपकप्तान ज्ञानेन्द्र मल्ल (३१ रन) को राम्रो साथ पाए । दिपेन्द्र ऐरी (६ रन), पहिलो खेल खेलिरहेका सन्दिप जोरा (१९ रन) र रोहित पौडेल (१६ रन) छिट्टै आउट भएपनि एक तर्फबाट पारसले नेपालको इनिङ्स सम्हाले ।

३९ औं ओभरमा पारस आउट भएपछि सोमपाल कामी (२६ रन) र रोहित पौडेल (२१ रन) मिलेर ४४ ओभर ४ बलमा नेपालको जित सुनिश्चित गरे ।

यसअघि टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले २ सय ५५ को लक्ष्य पाएको थियो । सुरुवातमा राम्रो तथा कसिलो बलिङ गरे पनि पछिल्लो १५ ओभर नेपालको लागि खर्चिलो सावित भयो ।

खराब सुरुवात गरेको यूएई कुनै समय ५० ओभर पुरै टिक्न नसक्ने अवस्थामा पुगेको थियो । तर पाँचौ विकेटका लागि अनवार र सि।पि रिजवानले २० ओभर २ बलमा ४७–४ को अवस्थामा रहेको यूएईलाई १ सय रनको शतकीय साझेदारी गर्दै ४२ ओभरमा १४७–५ को बलियो अवस्थामा पुर्याएपछि यूएईले नेपाललाई गतिलो चुनौती पेश गरेको हो ।

अन्तिम १६ ओभरमा नेपालका बलरले १ सय ५४ रन खर्चेका थिए । यूएईलाई विशाल योगफल तयार पार्न उत्कृष्ट ब्याटिङ गरेको अनवरले ७० बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ८७ रन बनाए । शतकीय साझेदारी करण केसीले ४२ ओभरको दोस्रो बलमा रिजवानलाई ४५ रनमा विकेटकीपर विनोदबाट क्याच गराउदै तोडेका थिए । रिजवानले ७६ बलमा ५ चौका प्रहार गरे ।

त्यस्तै आक्रममक ब्याटिङ गर्दै मोहम्मद बुटाले पनि अर्धशतक बनाए । नेपालका लागि करण केसी र पारस खड्काले २–२ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेको नाममा १-१ विकेट रहयो ।

संम्बन्धित समचार

Leave a Reply