कालोसूचीमा परेका ग्राहकबाट पाँच करोडभन्दा बढी बक्यौता रकम असुली

साउन ११,रौतहट । नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय गौर वितरण केन्द्रले विद्युत प्रसारण गर्ने आफ्नो क्षेत्र भित्र कालोसूचीमा परेका ग्राहकबाट पाँच करोडभन्दा बढी बक्यौता रकम असुल गरेको छ ।

शाखा कार्यालय गौरले लामो समयसम्म विद्युत महसुल नतिरेर कालोसूचिी परेका एक हजार ५८४ जना ग्राहकबाट पाँच करोड २१ लाख ९७ हजार १८४ रुपियाँ बक्यौता रकम असुलेको हो ।

शाखा प्रमुख इन्जिनियर विजय महतोका अनुसार तीन महिनाभन्दा बढी समय र दश हजार रुपियाँभन्दा बढी महसुल नबुझाएका उक्त सङ्ख्याका ग्राहकको विद्युत् प्रसारण सेवा अवरुद्ध गरिएको थियो । तीमध्ये एक हजार चार सय पाँच जना ग्राहकले पुनः सेवा सञ्चालन गर्दा बक्यौता रकम भुक्तान गरेका हुन् ।

यसैबीच हुकिङ् गरी विद्युत चोरी गर्ने व्यक्ति तथा संस्थालाई कारबाही गर्दा असार (१५ गतेसम्म) प्राधिकरणले ७५ लाख ४०८ रुपियाँ जरिवाना असुल गरेको छ । शाखा प्रमुख महतोले भने, “विभिन्न विद्युतीय उपकरण सञ्चालन गर्न नियमविपरीत विद्युत प्रयोग गर्ने २५० जना र मिटर जडान हुँदाहुँदै पनि विद्युत् चोरी गर्ने १७२ जनालाई प्रहरीको सहयोगमा पक्राउ गरी कारबाही गरिएको छ । अवैधानिक तबरले प्रयोग गरिएको पानी तान्ने मोटर, काठ चिरान यन्त्रलगायत विभिन्न विद्युतीय यन्त्र बरामद गरिएको छ ।’’

प्राधिकरणले बक्यौता रकम असुली, चुहावट नियन्त्रण तथा नयाँ मिटर जडानलगायतका कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment