बेनिघाटका शिवकुमार कार्कीको अवस्था अझै अज्ञात !

Post Thumbnail

साउन २३,काठमाडौँ । बेनिघाट रोराङ गाउँपालिका–५ का ४० वर्षिय शिवकुमार कार्की बेपत्ता भएको लामो समय भैसक्दापनि उनको अवस्था पत्ता लाग्न सकेको छैन् । उनका साथी इन्द्र कँडेलसँग असार ३१ गते घुम्न निस्केका उनी त्यसयता कुनै सम्पर्कमा आएका छैनन् । उनको वास्तविक अवस्था पत्ता लगाउन प्रहरीसमेत असफल बनेको छ ।

बेनीघाट रोराङ गाउँपालिका–५ स्थित एक बारमा मदिरा सेवन गरी निस्केका उनीहरुमध्ये कार्की हराएको थिए । हालसम्म पनि नभेटिदा हत्या गरिएको होकी भन्ने आशंकामा उनको परिवार छ । शिवले प्रयोग गर्ने मोबाइलबाट कुमारी तिवारीको मोबाइल नम्बरमा पटक–पटक कल गरेको र अन्तिमपटक सम्पर्क भएको समेत देखिएको आधारमा प्रहरीले बेनीघाट रोराङ गाउँपलिका–५ की ४० वर्षीय तिवारी, सँगै घुम्न हिँडेका र अन्तिमसम्म सँगै होटलमा मदिरा पिएका साथी इन्द्र कँडेललाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

उनी हराएको सम्बन्धमा खोजबिनको माग गर्दै स्थानीयले बिशालटार प्रहरी चौकीमा धर्ना दिएका छन्, भने बेनीघाटस्थित वडा नम्बर ५ को कार्यालय घेराउ गरेका छन् । स्थानीय दिपेश कँडेलका अनुसार शंका गरेको ठाउँमा उनको एउटा चप्पल भेटिएको थियो । “बेपत्ता भएको यत्रो दिन भइसकेको छ । सोधपुछका लागि पक्राउ गरिएकी महिलाले समेत उसलाई हामीले मारेर फालिसक्यौं भनेर बयान दिएकी रहिछन्,” उनले भने,“उनको बयानबारे हामीले सोध्दा प्रहरीले होइन भन्छ ।”

साथै अर्की स्थानीय अमृता श्रेष्ठका अनुसार अहिले पनि स्थानीयले शान्तिपूर्ण तरिकाले धर्ना दिँदै आएका छन् । प्रहरी नियन्त्रणमा रहेकी तिवारीले भने पछिल्लो समय बयान फेर्दै आइरहेकी छन् । उनी नाताले शिवकुमारकी माइजु पर्छिन् ।

धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले भने अनुसन्धान जारी रहेको बताएका छन् । उनका अनुसार अहिले पनि खोजी कार्य जारी छ । “उहाँको खोजीका लागि सबै जिल्लाहरुमा हामीले जानकारी पनि दिइसकेका छौं । आशंका गरिएको सबै ठाउँमा पनि खोजतलास गरिसकेका छौं । घटनामा सम्बन्धित व्यक्तिहरु चार जनालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गरिरहेका छौं ।” मिश्रले घटनालाई कुनै राजनितिक रंगले नहेर्नसमेत आग्रह गरे । उनले सत्यतथ्य बाहिर ल्याएरै छोड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । जिल्ला प्रहरी कार्यलयले टोली गठन गरेर खोजी, अनुसन्धान गरिरहेको मिश्रको भनाई छ । बेपत्ता भएका कार्की चार महिना अघि मात्रै कुवेतबाट बिदामा नेपाल आएका कार्की साउन २२ गते रोजगारीका लागि फेरी विदेश जाने तयारीमा थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस