सरकारले एकवर्षमा आठ सय २० किमी सडक कालोपत्र गर्‍यो

साउन ३२,काठमाडौँ । सरकारले गएको वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ वटा पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार एक वर्षमा दुई सय ४९ किमी सडक पुनःनिर्माण भएको छ । गएको वर्ष दुई सय ४३ किमी नयाँ ट्र्याक खुलेको र छ सय २८ किमी खण्डास्मित भएको विभागले जनाएको छ । गएको वर्ष सात सय ६१ किमी सडक आवधिक मर्मतको लक्ष्य रहेकोमा पाँच सय ३८ किमी सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विभिन्न किसिमका अवरोध हुँदाहुँदै पनि सडक विभागको प्रगति झन्डै ६९ प्रतिशत पुगेको बताए । उनले भने, ‘चालु वर्ष समयमा कामको प्रगति अझै बढाइनेछ ।’ अझै पनि अपेक्षा गरेअनुसार पूर्वाधार क्षेत्रमा प्रगति नभएको विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति जति हुनसक्थ्यो त्यति हुन नसकेको उनको भनाइ छ । उनले भने ‘विभागले ८० प्रतिशत प्रगति हुने अपेक्षा गरेको भए पनि त्योअनुसार हुनसकेको छैन ।’

राष्ट्रिय गौरवका आयोजनामा प्रगति राम्रो रहेको विभागले जनाएको छ । नागढुङ्गा–नौबिसे सडक खण्ड स्तरोन्नतिको काम जारी रहेको विभागले जनाएको छ । यो सडक खण्डमा तीन प्याकेजमा ठेक्का भएर काम शुरु भएको विभागले जनाएको छ । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नतिका लागि पूर्व तयारीको काम सम्पन्न गरेर निर्माणका लागि खरिद प्रक्रिया तयारी भएको छ ।

तमोर कोरिडोरअन्तर्गत मूलघाट–सुभाङ्गखोला खण्डको ठेक्का व्यवस्थापनको काम सम्पन्न भएर निर्माणको काम शुरु भएको छ । ग्वार्खो ‘फ्लाइओभर’ को निर्माण भइरहेको र सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माणका लागि बहुवर्षीय ठेक्का र स्रोत सुनिश्चितताका लागि सहमति माग गरिएको छ । अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक निर्माण भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Comment