प्रदेश ३ को प्रथम वार्षिकोत्सव : प्रदेशसभाको काम सन्तोषजनक रहेको मुख्यमन्त्रीको दावी

Post Thumbnail

माघ १८,हेटौडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको र प्रदेशसभाको कामबाट आफू पूर्ण सन्तुष्ट रहेको बताएका छन ।

“शून्यबाट शुरु गरेर आउनुपरेकाले सरकारले आधार तयार पार्नुपर्दा केही भएकै पो छैन कि भने झैँ लागे पनि सरकारले गर्न सक्नेभन्दा पनि बढी काम गरेको छ”, उनले भने । प्रदेशसभाको प्रथम वार्षिकोत्सवका अवसरमा प्रदेशसभाद्वारा आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले प्रतिपक्षले भनेजस्तो निराश हुनुपर्ने अवस्था नरहेको बताए ।

मुख्यमन्त्री पौडेलले हिउँदे अधिवेशनले राजधानी र नामाकरण टुङ्गो लगाउनेमा ढुक्क हुन आग्रह गरे ।

प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बानियाँले प्रदेशसभाले एक वर्षसम्म पनि स्थायी राजधानी तोक्न नसक्दा आफूहरुलाई लाज लाग्न थालेको बताए । उनले भने, “जता गए पनि जनताले राजधानी कहिले टुङ्गो लाग्छ भनेर सोध्ने र आफूले जवाफ दिन नसक्ने अवस्था छ, जहाँ तोके पनि छिटो तोकिनुप¥यो ।”

सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारलाई जनताप्रति जिम्मेवार र जवाफदेही बनाउँदै लोकहितका विधि निर्माण गर्नुपर्ने कार्यलाई अङ्गीकार गरेको बताए । उनले प्रदेशसभामा प्रस्तुत २८ विधेयकमध्ये २४ पास भएको तथा प्रमाणीकरणसमेत भएर ऐनका रुपमा आइसकेको र चार विधेयक विचाराधीन रहेको बताए ।

सरकार र निजीक्षेत्रबीच सहकार्य

मुख्यमन्त्री पौडेलले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार भएको बताएका छन। आफू स्थानीय तहमा हुँदा सार्वजनिक निजी साझेदारीको अवधारणा नजीकबाट बुझेकाले प्रदेशको समृद्धिमा निजी क्षेत्रले योगदान दिनसक्नेमा आफू ढुक्क भएको उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्यालयमा आज प्रदेश सरकार तथा नेपाल उद्योग वाणिज्य महासङ्घबीच भएको सम्झौतापत्रमा हस्ताक्षर एवं सम्झौतापत्र आदानप्रदान कार्यक्रमा मुख्यमन्त्रीले उक्त धारणा राखेका हुन । प्रदेश नं ३ धेरै कुरामा अरू प्रदेशभन्दा माथि रहेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो प्रदेशमा सशक्त निजी क्षेत्र तथा सबै हिसाबले दक्ष र योग्य जनशक्ति रहेकाले यहाँको विकास द्रुत गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले पूँजी, प्रविधि र इच्छाशक्तिलाई प्रदेश सरकारले सदैव स्वागत गर्ने बताए । “यो प्रदेशमा धेरै थोक छ त्यसलाई प्रयोग गर्न निजी क्षेत्र पनि लाग्छ भन्ने हाम्रो विश्वास छ”, उनले भने।

उद्योग वाणिज्य महासङ्घ अध्यक्ष भवानी राणाले सम्झौताले प्रदेशको कृषि तथा पर्यटन क्षेत्रको व्यापक विकास गर्ने र बेरोजगार समस्या केही हदसम्म भए पनि कम गर्ने बताईन । पाँच वर्षभित्रमा १० लाख युवालाई रोजगारी दिने केन्द्रीय सरकारको योजनालाई प्रदेश नं ३ र उद्योग वाणिज्य महासङ्घबीच भएको सम्झौताले टेवा पु¥याउने उनको धारणा थियोे ।

ताजा अपडेट

खोजी गर्नुहोस