हेटौंडा – बागमती प्रदेशको काम कारबाही समयमा र योजनासहित सम्पन्न गराउनका लागि मुख्यमन्त्री र मन्त्रीहरूबीचमा कार्ययोजना सम्पादन करार सम्झौता सम्पन्न भएको छ ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्रीहरूलाई करार सम्झौता गराएका हुन् । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका मन्त्रीहरूलाई सम्झौतापत्र टेबलमा राखेर कार्यसम्पादन गर्न निर्देशन दिए । उनले उपलब्ध जनशक्तिबाट स्तरीय सेवा प्रवाह गर्न पनि सुझाए ।
उनले भने, ‘अब मन्त्रालयको सेवा सबै जिल्लामा विस्तार गरिनेछ, तब जनतालाई घरघरमा सिंहदरबार भएको महसुस हुनेछ ।’
उनले पुस महिनाभित्र हेटौंडा–काठमाडौं जोड्ने सडकखण्ड भैँसे–भीमफेदी र फाखेल–हुमानेलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए ।