उपवासको महत्व: कस्तो व्यक्त्ति उपवास बस्ने ?

  • अनलाइन केन्द्र
  • / विचार/दृष्टिकोण /
  • २०८० भाद्र २६, मंगलबार (८ महिना अघि)
  • १९ पटक पढिएको
Post Thumbnail
  • झरना के.सी.             

संस्कृत भाषामा व्रतलाई ‘उपवास’ भनिन्छ । तर उप शब्दको ज्यादै ज्यादै गहिरो अर्थ छ । ‘उप’ भनेको नजिक र वास भनेको बस्नु भगवानको नजिक बस्नु हो । वास्तवमा व्रत भनेको धर्मशास्त्रले बनाएको मनुव्य जीवनको नियम हो । हाम्रा पुर्वज ऋषिमुनिहरुले मार्गदर्शन गर्नुभएको तपस्या पनि हो । व्रतलाई धर्मको आधार, साधन वा माध्यम पनि भनिन्छ । व्रतको तात्पर्य इन्द्रियहरुलाई वशमा राख्नु हो । जिब्रो मात्र शरीरको इन्द्रिय होइन । कान, आँखा पनि इन्द्रिय हुन । आँखालाई राजसी र तामसी दृष्यबाट अलग गर्नु र कानलाई राजसी र तामसी कुरा सुन्नबाट अलग गर्नुपर्दछ । व्रत भनेको शरीरलाई खाना नदिदैमा हुने होइन, व्रतमा संयमता सँकल्प र नियमको आवश्यकता पर्दछ । संकल्प बाट नै नियम प्राप्त हुन्छ । व्रत संयम र त्याग हो । यसको अर्थ खराब र अवाञ्छित कुराहरुबाट बच्न सबै इन्द्रियहरु निग्रह गर्नु नै हो । व्रत भनेको सामान्य भाषामा खाना छोड्नु मात्र होइन ।

अर्को अर्थमा जब मनलाई नियन्त्रण गरेर कतै हलचल गर्न नदिई खादा काम गर्दा, डुल्दा प्रत्येक क्षण खाली ईश्वर,ईश्वर भनि पुकारा गर्ने अवस्थालाई पनि व्रत भनिन्छ । यो नै सत्य उपासना हो । सदैव भगवानको उपस्थिति अनुभव गर्ने र भगवानसँग नजिकको सम्बन्ध स्थापना गर्ने प्रयासलाई पनि उपसना भनिन्छ । जब मन  ईश्वरबाहेक जताततै डुलिरहन्छ भने खानाबाट मात्र टाढा रहनुको कुनै अर्थ हुँदैन । इमान्दारी पुर्वक उपवास बस्ने हो भने इन्द्रियलाई नियन्त्रण र मनलाई अनुशासनमा बाँधेर ईश्वरप्रति केन्द्रित हुनुपर्छ । नचाँहिदा इच्छाहरु बाट टाढा रहनु, चाहनालाई नियन्त्रण गर्नु र इन्द्रियहरुलाई बलियो सँग बाधेर राख्नुपर्छ । इन्द्रियहरु भनेका घोडा जस्तै हुन । बलियोसँग समात्न सकिएन भने यत्र-तत्र उर्फीरहन्छन वुद्धिलाई सारथि बनाउनुपर्छ ।  यदि यति कुरा गर्न संक्षम भयौ भने सबै इच्छाहरु ओइलाउन थाल्छन र मन पनि शान्त अवस्थामा पुग्नेछ । तब मन हिरा बन्ने छ तब मात्र ईश्वरप्रतिको पाटो सफा हुन्छ ।

उपवासको महत्व

उपवास भनेको यो शरिरको सर्भिसिङ पनि हो । जति विश्वास गर्यो त्यति शक्तिशाली भएर सेलहरु उत्पादन गर्ने प्रकृया बढेर आउँछ । प्लाज्मा रेस्ट गर्छन र नयाँ-नयाँ प्लाज्मा जन्मदै जान्छन । बुढ्यौलीपन कम हुने नराम्रो विकारहरु घट्दै जान्छन । हामीले खाना नखाएको अवस्थामा हाम्रो शरीरमा भएका मृतकोषिकाहरुलाई स्वस्थ कोषले खाइदिन्छ शरीरलाई क्षति गर्ने मृत कोषिका नभएपछि शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । जसकारण रोगसंग लड्न सक्ने क्षमता बढ्छ । मानव शरीरमा प्रत्येक २१ दिनमा कोष (रिपेयर) हुने क्रम चलिरहन्छ, कोष जन्मने र मर्ने कार्य स्वचालित रुपमा निरन्तर भैरहेको हुन्छ । मृतकोषिका र टक्सिनले शरीरलाई क्षति पुर्याईरहेको हुन्छन । यि विकारलाई उपवास बस्दा स्वस्थ कोष भोको हुने भएकोले खाइदिने हुनाले हाम्रो शरीरलाई फाइदा पुर्याउछ ।

उपवासलाई एउटा उपचार पद्दति नै मानिन्छ । उपवास पेटको टक्सिन सफाई गर्ने सबैभन्दा उत्तम उपाय हो । पाचन प्रणालीलाई राम्रो बनाउने भएकोले पेट र छाला सम्बन्धित समस्या कम हुन्छ । आयुर्वेदिक चिकित्सा विज्ञान अध्यनमा पनि उपवासले स्वास्थयमा फाइदा पुर्याउने उल्लेख छ । उपवासले शरीरको हिलिङ प्रकृयामा राम्रो काम गर्नुको साथै तौल बढ्ने र कोलेस्ट्र्रोलको जोखिम पनि कम गर्छ । उपवास शारीरिक मात्र नभई मानसिक एवम भावनात्मक स्वास्थ्यका लागि लाभदायी मानिन्छ । उपवासले एकाग्रता बढाउनुको साथै मनलाई शान्त, स्थिर बनाँउछ । तनाव अनिद्रा आदि समस्या आउन दिँदैन । निरन्तर उपवास गर्ने व्यक्त्ति भावनात्मक रुपमा शान्त रहन्छ । व्रत बस्नुभन्दा अगाडिका दिनहरुमा सहज किसिमको सात्वीक खाना खायौ भने हामीलाई व्रत बस्न सहज अनि आस्था भक्त्ति जाग्छ । भारी खाना खाएर भोलिपल्ट व्रत बस्दा आलस्य जाग्छ । भक्त्ति भाव आउँदैन तसर्थ ईश्वरको नाममा व्रत बस्नु अघिल्लो दिन भारी खाना नखाई सात्वीक सुपाध्य खाना खानु पर्दछ ।

निर्जला व्रत कति आवश्यक छ

निर्जला व्रतलाई पानी नखाइकन बस्ने कडा रुपमा बस्ने व्रतलाई मानिन्छ । यसरी बस्दा स्वास्थ्यमा असर पर्न सक्छ । भारी खाना महिनौ दिनदेखि खाएकोले एक दिनको उपवास पानी पनि नखाईकन बस्दा रिंगटा लागेर ढल्ने, चिडचिडापन हुने, मन अस्थिर हुने, डिहाइड्रेसन हुने, टाउको दुख्ने आदि समस्या देखापर्न सक्छ । व्रतका समयमा पानी पनि नखाई बस्नुपर्छ भन्ने मान्यताका कारण शरीरको पनि ख्याल राख्नु जरुरी छ । पानी खाएर कुनै नोक्सान हुने र नखादैमा कुनै धर्म हुन्छ भन्ने पनि हुदैँन । जुन व्यक्त्तिले आज म पानी खान्न भनेर संकल्प गर्छ त्यो व्यक्त्तिलाई प्यासै लाग्दैन । शरीरको शक्त्ति भन्दा मनको शक्त्ति कयौँ गुणा बढि मानसिक शक्त्तिमा हुन्छ जसले मानसिक र मनको शक्त्ति प्रयोग गर्छ उसका लागि असम्भव कुनै कुराको हुँदैन । उ भित्रको संकल्प शक्त्तिले उसको पुरै रक्षा गर्छ ।

कस्तो व्यक्त्ति उपवास बस्ने ?

उपवास बस्दा आफ्नो उमेर र स्वास्थ्यलाई ध्यान दिनु जरुरी छ । बालक, वृद्ध, सुत्केरी महिला, गर्भवती महिला र बिरामी अवस्थामा व्रत लिनु हुँदैन । शारीरिक तथा मानसिक अवस्था हेरेर रोगले ग्रस्त भएकोले लिनु हुदैँन । उच्च रक्तचाप भएको व्यक्त्ति पानीसमेत नखाईकन बस्दा डिहाइड्रेसन हुने डर हुन्छ । मधुमेह रोगीहरु भोकै नबस्नु नै राम्रो मानिन्छ । टाउको दुख्ने, रिंगटा लाग्ने व्यक्त्तिलाई उपवास बस्दा असर पुर्याउन सक्छ ।

उपवासपछि…..

उपवास सकिए लगत्तै ठोस खानेकुराहरु खानु हुँदैन् । उपवास सकेपछि सुढो वा अदुवा पानी पकाएर खान सकिन्छ । सुढो वा अदुवा पानीले पच्न बाँकि भएको आमरसलाई सजिलै पचाउँछ । मनतातो पानी खान सकिन्छ । त्यसपछि कालो चिया वा ताजा फलफुलको जुस खान सकिन्छ । त्यसपछि हल्का खाना खानु उचित हुन्छ । भोको पेटमा भारी खाना खानु हुँदैन ।

समग्रमा,

कुनै पनि व्रत (उपवास) धार्मिक र संस्कृतिसंग जोडिएको अभिन्न अङ्ग हो । व्रत व्यक्त्तिसंग केन्द्रित हुन्छ भने चाडपर्व समाजसंग केन्द्रित हुन्छ । व्रत व्यक्त्ति विशेषको मानसिक कृया हो भने चाडपर्व समाज र राष्ट्रका सांस्कृतिक क्रिया हुन । व्रत, चाडपर्वले व्यक्त्तिलाई संस्कारी, पवित्र, अनुशासित र मर्यादित बनाउँछ भने अर्कोतिर सामाजिक समन्वय लोककलाको समर्वदन र संरक्षण गरिहेको हुन्छ । चाडपर्वहरु मनको औषधि पनि हो । पारिवारिक जमघट रमाइलोको साथै घर-परिवारमा खुशि छाउछ । भावनात्मक सम्बन्ध बलियो बनाउँछ । अन्त्यमा, आफ्नो स्वास्थ्य र मनको अवस्थालाई ध्यानमा राखेर व्रत (उपवास) बस्नु पर्दछ । तपस्या गर्ने मान्छे जर्वजस्ती तपस्या गरेर हुँदैन । आफ्नो मानसिक रुपमा साधनाको लागि पुर्ण तयारी हुनुपर्दछ । उपसना अरुलाई देखाउने आडम्वरको लागि नगरौँ । भित्रैदेखि प्रेम, भक्त्तिले गरेर ह्दयलाई चाडपर्वमा मिसायौ भने हामी फेरी जीवन्त हुनेछौँ । यिनै चाडपर्वहरुले एउटा असाध्यै राम्रो, सकरात्मक शान्तिले भरिएको प्रेम र मिलनको आनन्दले भरिएको परिवार र समाज हामी निर्माण गर्न सक्छौँ ।

-के.सी. योग प्रशिक्षकको रुपमा परिचित छन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस