सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्‍यो : सांसद तामाङ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ३१, आईतबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र ३१, काठमाण्डौँ । कानुन निर्माणमा केन्द्रित हुनुपर्ने जनप्रतिनिधि खुद्रे विकासका आयोजनाका लागि बजेट खोज्दै मन्त्रालय धाएको भन्दै जनस्तरमा आलोचना भइरहेको छ ।

निर्वाचनपश्चात विधायकको भूमिका सक्रिय हुनुपर्ने सांसद टुक्रेटाक्री योजना लिएर वडाध्यक्षसँग प्रतिस्पर्धामा उत्रिएको भन्दै व्यङ्ग्य समेत हुने गरेको छ । संविधान जारी भएको आठ वर्ष बिते पनि सङ्घीयता कार्यान्वयनसँग सिधै सरोकार राख्ने अझै केही महत्वपूर्ण कानुन बन्न सकेको छैन । सङ्घीय निजामती ऐन, विद्यालय शिक्षासम्बन्धी विधेयक, सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारको सूचीमा रहेका तथा विकास निर्माणकार्यसँग सम्बन्धित कतिपय कानुन निर्माण हुन नसक्दा सङ्घीयता कार्यान्वयनमा चुनौती खडा भइरहेको छ ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद सूर्यमान तामाङ (दोङ) ले विधायक मुलुक सञ्चालन गर्ने नीति, नियम बनाउन केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेको स्वीकार्दै समाजको अन्तरविरोधले सांसदलाई विकास निर्माणमा जबर्जस्त धकेलेको बताए । ‘कसको क्षेत्रमा कति बजेट लग्छ, उही सफल सांसद हुने जनताको बुझाइ छ’, उनले भने, ‘यसले गर्दा कानुन निर्माणमा सांसदको भूमिका ओझेलमा परेको हुनसक्छ ।’

कतिपय मुलुकका विधायकका रूपमा निर्वाचित जनप्रतिनिधि सरकारमा पनि सहभागी नभई कानुन निर्माणमा मात्र संलग्न हुने गरेको दृष्टान्त दिँदै पूर्वराज्यमन्त्री दोङले नेपालको सन्दर्भमा निर्वाचित सांसद सरकारमा सहभागी हुन पाउँदैन भनेमा सांसदको उम्मेदवार नै नपाउने अवस्था रहेको बताए । ‘निर्वाचित भइसकेपछि मन्त्री हुनैपर्ने, त्यो पनि आकर्षक मन्त्रालय हुनुपर्ने बुझाइले कानुन निर्माणमा केन्द्रित हुनुपर्ने सांसदको भूमिका कमजोर भइरहेको छ’, उनले भने

जनप्रतिनिध कानुन निर्माण गर्ने र व्यवस्थालाई सुव्यवस्थित पार्ने भूमिकामा केन्द्रित हुनुपर्नेमा सांसद तामाङको जोड छ । उनले भने, ‘सांसदको काम मुलुक चलाउने विधि–विधान निर्माण गर्ने नै हो । सरकारमा विज्ञ व्यक्ति सहभागी हुनुपर्छ । सांसदले कानुन बनाउने हो, सरकारमा सहभागी हुनेले त्यसलाई कार्यान्वयन गर्ने हो ।’

ताजा अपडेट

खोजी गर्नुहोस