कोशीको मुख्यमन्त्री कार्यालय र प्रदेशसभा बाहिर २ महिनासम्म प्रदर्शन निषेध

 

असोज १, विराटनगर । पहिचान पक्षधरले आन्दोलनको तयारी गरेपछि प्रशासनले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

स्थानीय प्रशासनले विराटनगर महानगरपालिकाका केही स्थानलाई २ महिनासम्म निषेधित क्षेत्र तोकेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को ६ ९३ क० अनुसार निषेधित क्षेत्र तोकिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार सूचना जारी गर्दै असोज १ गते बिहान ६ बजेदेखि लागू हुने गरी दुई महिनासम्म प्रदेशसभा सचिवालयबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वका क्षेत्रमा प्रदर्शन निषेध गरेका हुन् ।

पछिल्लो समयमा विराटनगरलाई केन्द्रीत गरेर विभिन्न समूहलगायतबाट विरोध, धर्ना, जुलुस आयोजना गरी विरोधका कार्यक्रमहरु भइरहेका छन् । उक्त गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकाले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज बनाउनका लागि असोज १ गते बिहान ६ बजेदेखि २ महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावत बाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ३क बमोजिम निषेध गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जारी गरेको सूचनामा उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Comment