असोज १, काठमाण्डौँ । जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ । अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न गर्न १३ वर्षसम्म लागेको छ । भरतपुर–बर्दघाट प्रसारण लाइन त्यसैको एउटा उदाहरण हो ।
माथिल्लो तामाकोशीलगायतका आयोजनाबाट उत्पादित बिजुली काठमाडौँ उपत्यकामा ल्याउनका लागि महत्वपूर्ण मानिएको बाह्रबिसे काठमाडौँ प्रसारण लाइन निर्माणमा पनि त्यस्तै समस्या छ । प्रसारण लाइनको मार्गक्षेत्रमा पर्ने जग्गाको मुआब्जाका विषयमा सबैभन्दा बढी समस्या पर्ने गरेको छ । यस्तै प्रसारण लाइनको टावर रहने जग्गामा पनि उत्तिकै समस्या छ । जताततै समस्यामा मात्रै फसेको प्रसारण आयोजनाका लागि सरकारले अब दीर्घकालीन हिसाबले निर्णय गर्ने तयारी गरेको छ । उत्पादनलाई मात्रै जोड दिएर नहुने र प्रसारण लाइन निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता देखिएको भन्दै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव संयोजकत्वको कार्यदलले तयार पारेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८०’ मा प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधानका लागि विशेष व्यवस्था गरिनुपर्ने प्रावधानको प्रस्ताव गरिएको छ ।