एमाले गण्डकीको प्रथम अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

असोज १५, पोखरा । नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशन आज सोमबारदेखि पोखरामा सुरु हुँदैछ ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र आज दिउँसो १२ बजे अमरसिंह चौर पोखरामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्‍घाटन गर्ने कार्यक्रम रहेको प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिए ।

अधिवेशनमा प्रदेशका ८५ वटै स्थानीय तहबाट ९ सय ७ प्रतिनिधिले भाग लिने उनले बताए ।
बन्दसत्र भने भोलि मंगलबार पोखरा सभागृहमा हुने एमाले गण्डकीले जनाएको छ । अधिवेशनले आगामी कार्यकालका लागि प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ ।

नेतृत्व चयन सर्वसम्मतरूपमा गराउन पहल हुने र सम्भव नभएमा निर्वाचनबाट गरिने एमाले गण्डकीले जनाएको छ ।
प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यहरु मायानाथ अधिकारी, राजीव पहारी, कृष्ण थापा, रामशरण बस्नेत, वर्तमान प्रदेश अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दबाडी, उपसचिव रश्मी आचार्यलगायतका नेताहरु आकांक्षी रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply