नयाँ सरकार गठनका लागि कोशीमा पाँच दिनको समयसीमा

Post Thumbnail

आश्विन २०,काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएर सरकार गठनको आव्हान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै प्रदेश प्रमुख खापुङले उक्त समय दिएका हुन् ।

आजै बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका थिए । विश्वासको मत लिने प्रयोजनका लागि आव्हान भएको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि बहुमत जुटाउन नसकेपछि कार्कीले राजीनामा दिएका हुन् । उनी गत भदौ २२ गते नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री बनेका थिए ।

प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा (५) अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य (४७) सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस