असोज २५, काठमाण्डौँ । काठमाडौँको बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका लागि निर्माण गरिएको भवन बुधबार हस्तान्तरण गरिएको छ । ‘नेपाल भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको १ करोड ९२ लाख आर्थिक सहयोगमा बनेको सो भवन हस्तान्तरण गरिएको हो ।
भवनको भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति काठमाडौँ प्रमुख सन्तोष बुढाथोकीले आज संयुक्त रूपमा उद्घाटन गरी औपचारिक रूपमा हस्तान्तरण गरेका थिए ।
भारतले उपलब्ध गराएको उक्त अनुदान रकम तीन तले विद्यालय भवनको निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भारत सरकार र नेपाल सरकारबीच भएको एक सम्झौता अनुरुप यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रूपमा निर्माण गरिएको हो। जिल्ला समन्वय समिति काठमाडौँले यस परियोजनाको कार्यान्वयन गरेको हो ।
उद्घाटन समारोहमा बोल्दै दूतावासका नियोग उप–प्रमुख श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्त्वपूर्ण हिस्सा भएको बताए। उनले नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरूप र दुवै देशका जनताको हितका निमित्त दुई देशबीचको विकास साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैँ प्रतिबद्ध रहेको बताए ।