माघ २६,काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको हिमाली क्षेत्र जैविक विविधाको खानी भएको बताएका छन । पोखरा पर्यटन परिषद् तथा अन्तर्गतका विभिन्न सदस्य संस्थाद्वारा आयोजित ‘ताप्लेजुङ्ग–दार्चुला ग्रेट हिमालयन केबुलकार’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा उनले प्राकृतिक स्रोतसाधनको संरक्षणसँगै भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए ।
हिमाली क्षेत्रको मौलिकतालाई कायम राख्दै स्थानीय बासिन्दाको सहभागितामा पर्यटकीय पूर्वाधार निर्माण गरिनुपर्ने बताउँदै उनले सो क्षेत्रलाई समृद्धिको आधार बनाउनुपर्ने बताए ।
आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धनमा ताप्लेजुङ–दार्चुला ग्रेट हिमालय केबुलकार सम्भावना भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले त्यसका लागि प्रदेश सरकारका तर्पmबाट आवश्यक सहयोग रहने स्पष्ट पारे ।
गण्डकी प्रदेशका राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर एवम् पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिँदै उनले प्रदेश र स्थानीय तहले समेत सडक पूर्वाधारलाई पहिलो प्राथमिकता राखेको बताए ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभाले यस वर्षलाई कानून निर्माणका रुपमा लिएको बताउँदै दृढ इच्छाशक्तिका साथ गरिएका कामले उपलब्धि प्राप्त गर्न सकिने बताए ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले नेपालको पदयात्रा मार्गलाई व्यवस्थित गरिनुपर्नेमा जोड दिँदै केबुलकार निर्माणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिए ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने योजनाका साथ सरकार अगाडि बढेको बताउँदै प्रदेशका ११ वटै जिल्लामा पर्यटन विस्तार गरिने तयारी भइरहेको उल्लेख गरे ।
ताप्लेजुङका सङ्घीय सांसद हेमबहादुर राईले प्राकृतिक स्रोतसाधानको पहिचान गरेर पर्यटन र जलस्रोतको विकास अपरिहार्य रहेको बताउँदै खुम्बु र पाँचपोखरी क्षेत्रमा वार्षिक ६० हजार पर्यटक आउने गरेको जानकारी दिए । केबुलकार हिमाली र पहाडी क्षेत्रको विकासमा कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्दै उहाँले त्यसका लागि तीनै तहका सरकारको समन्वय आवश्यक रहने बताए ।
कार्यक्रममा समृद्ध नेपालका अभियन्ता कृष्ण केसीले लोमाङथाङ–लुम्बिनीः फेवाताल–राराताल (लुलुफेरा) ताप्लेजुङ दार्चुला ग्रेट हिमालयन केबुलकार राष्ट्रिय योजनाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।