सैनिकको रगतले बचायो वृद्धालाई ! सेनाको शिविरमा ४५३ जनाको उपचार

Post Thumbnail

माघ २७,डोटी । जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ नेपाली सेनाको रुद्रध्वज गणका तीन सैनिकले दान गरेको रगतले एक वृद्धाको ज्यान जोगिएको छ ।

सुदूरपश्चिम पृतना जनसम्पर्क शाखाका अनुसार दीपायल सिलगढी नगरपालिका–५ बस्ने ७५ वर्षीया ललिता केसीलाई सुगर रोगसँगै निमोनिया पनि भएपछि दीपायलस्थित शैलेश्वरी अस्पताल भर्ना गरिएको थियो ।

शरीरमा रगतको मात्रा कमी भएर ज्यान जोगाउन कठीन भएकाले उहाँलाई रुद्रध्वज गणमा कार्यरत अमल्दार सन्दीप दरै, प्युठ गणेश थोकर तथा सिपाही खिमलाल भण्डारीले एक–एक पिन्ट ‘ए’ पोेटिभ रगतदान गरेको अस्पतालका निर्देशक आइजङ्ग कुँवरले जानकारी दिए ।

रगत दिइएपछि वृद्धाको स्वास्थ्यमा निकै सुधार आएको शैलेश्वरी अस्पतालले जनाएको छ । नेपाली सेनाले आफ्ना सैनिकको ब्लडग्रुप पहिले नै छुट्याएर राख्ने गरेको र चाहिएका बेला जोसुकैलाई पनि रगत दान गर्ने गरेका कारण रगत आवश्यक परे सेनाको ब्यारेकमा बिरामीका मानिस धाउने गरेको स्थानीयवासी तुलसी शाहीले बताए । उनले भने, “सेनाले भनेको समयमा रगत दिने भएकाले यहाँका बासिन्दा रगतका लागि अन्य ठाउँ जानुभन्दा पहिले ब्यारेक नै धाउने गर्छन् ।”

शिविरमा ४५३ जनाको उपचार

जिल्लाका उच्च लेकाली भेगमा केही दिनअघि हिमपात भएसँगै चिसो बढेकाले बिरामीको सङ्ख्या बढ्न थालेपछि यहाँस्थित नेपाली सेनाको रुद्रध्वज गणले निःशुल्क स्वास्थ्य शिविर गर्न थालेको छ ।

उक्त गणद्वारा जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा ३३३ महिला र १२० पुरुषको स्वास्थ्य जाँच गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस