सैलुङमा होटल बनाउनेलाई गाउँपालिकाको अनुदान

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७५ फागुन १, बुधबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

फागुन १, जिरी । दोलखाको सैलुङ गाउँपालिकाले सैलुङमा पर्यटकलाई आकर्षित गर्न होटल बनाउनेलाई अनुदान दिने भएको छ ।

गाउँपालिकाको निर्णयबाटै शुरुका १० वटासम्म होटल वा होमस्टे ९घरबास० निर्माणका लागि अनुदान दिने घोषणा गरेको हो । महाभारतको सबभन्दा अग्लो स्थान मानिएको सैलुङमा पर्यटकको गन्तव्यस्थल बनाउन गाउँपालिकाले साविक सैलुङ्गेश्वर गाविसको कालापानीमा डोजर लगाएर घरेडीसमेत निर्माण गरेको छ ।

सैलुङ घुम्न आउनेका लागि खान बस्नकै समस्या नहोस् भन्ने उद्देश्यले सैलुङ डाँडाको आसपास ढुङ्गे वा कालापानी क्षेत्रमा कम्तीमा १० जना बस्न सक्ने होटल वा होमस्टे निर्माणका लागि रु एक लाखका दरले अनुदान दिने निर्णय भएको अध्यक्ष भरत दुलालले जानकारी दिए। गाउँपालिकाले चालू आर्थिक वर्षका लागि होटलमा अनुदानका लागि रु १० लाख विनियोजन गरेको छ ।

सो स्थानलाई ‘विशेष पर्यटकीय क्षेत्र घोषणा’ गरेर गाउँपालिकाले भौतिक निर्माण कार्य अहिले पनि गरिराखेको गाउँपालिका प्रमुख दुलालले बताए । उनका अनुसार सैलुङ विकासकै लागि स्थानीय सरकार सञ्चालन ऐनबमोजिम विशेष पर्यटन क्षेत्र कार्ययोजना बनिसकेको छ । सैलुङको प्रवेश द्वारकैरुपमा रहेको कालापानीमा गाउँपालिकाको १० रोपनी जग्गा छ । त्यहाँ पर्यटकलाई बास बस्ने र सैलुङको यात्रा गराउनका लागि यो व्यवस्था गर्न लागिएको हो ।

रिसोर्ट तथा होटल सञ्चालन गर्न इच्छुकलाई छिटै टेन्डर आह्वान गर्दैछौँ । प्रमुख दुलालले भने, “जग्गा बढाबढमा उपलब्ध गराइनेछ । पालिकाका तर्फबाट पानी, बत्तीसमेत सुविधा हुन्छ ।
सुरक्षाका लागि प्रहरी चौकीको व्यवस्था छिटै हुँदैछ । जनकपुरतिरबाट आउनेलाई नयाँ पुल चर्नावतीबाट र काठमाडौँबाट आउनेलाई मुढे–बाघखोर–कालापानी २० किलोमिटरको सात मिटर चौडाइको सडक बनिसकेको छ । कालोपत्र गर्ने सोच पनि बनिसकेको छ ।

सैलुङकै नामबाट सैलुङ गाउँपालिका बनेको छ । यो सैलुङको रमाइलो ठाउँ र चौँरी हेर्नका लागि काठमाडौँदेखि झन्नै १४० किलोमिटर पूर्व दोलखामा पर्छ ।

नेवार र तामाङ संस्कृति, रमणीय दृश्य, विभिन्न जङ्गली जडीबुटी र वनस्पति, चौँरीको दूधबाट बन्ने विभिन्न परिकार पाइने यो स्थान दोलखाको सदरमुकाम चरिकोटबाट झण्डै ५० किमी दक्षिणतर्फ रहेको छ । सयभन्दा बढी स–साना डाँडा भएकाले नै यसलाई सैलुङ भनिएको हो । समुद्री सतहबाट लगभग तीन हजार ४०० मिटर उचाइमा यो स्थान रहेको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस