रास्वपाले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १३, बुधबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

मंसिर १३,काठमाडौँ । महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले पार्टीको राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको हो ।

प्रस्तावनामा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रूपमा चित्रित गरिएको छ । पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने रास्वपाको दस्तावेजमा उल्लेख छ । जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्ने रास्वपाको लक्ष्य रहेको केन्द्रीय सदस्य डा. स्वर्णिम वाग्लेले बताए। रास्वपाले पारित गरेको प्रस्तावनामा शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरू प्राप्त गर्ने निर्देशक सिद्धान्त बनाएको उनको भनाई छ ।

केन्द्रीय सदस्य वाग्लेले संसदीय चुनाव भएको एक वर्षभित्र पार्टीको महाधिवेशन गर्नुपर्ने भएकोले मङ्सिर मसान्तभित्रै महाधिवेशनको प्रक्रिया शुरु गरिने जानकारी दिए । यसका लागि सङ्गठनात्मक स्वरूपको खाका तयार पार्नुका साथै विधान संशोधन चाँडै नै गरिने उनले बताए।

‘राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रूपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीयलगायत सबै प्रकारका संरचनात्मक विभेदविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ’, पारित प्रस्तावनामा भनिएको छ ।

डा.वाग्लेले पार्टीको नीति नरहेको भनेर आलोचना गरिए पनि ती आरोपहरू आलोचना मात्रै भएको बताए । उनले आफ्नो राजनीतिक, सामाजिक र आर्थिक खाका तयार पारेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस