किसुनजीकाे प्रस्तावमा खाेलिएकाे नेशनल मेडिकल कलेज

बसरुद्धिन अन्सारी

विरगञ्ज मुलुककै ठूलो औद्योगिक क्षेत्र भएतापनि गुणस्तरीय स्वास्थ्यका हिसाबले पछाडी नै थियो । सामान्य उपचार नारायणी अञ्चल अस्पतालमा भएपनि जटिल प्रकारका रोगको उपचारमा काठमाडौं र भारतीय सहर पुग्नु हाम्राे बाध्यता थियाे । विरगञ्जमा एउटा नर्सिङ होम वाहेक अन्य थिएन । त्यो नर्सिङ होम हामीले स्थापना गरेका थियौं ।

विरगञ्जको मात्र नभएर मुलुककै दोश्रो नर्सिङ होम हो नेशनल नर्सिङ हाेम । २०४४/०४५ सालदेखि नर्सिङ होम स्थापना गर्यौं । २०४६ सालको बहुदलीय ब्यवस्था आएपछि न हो नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकास भएको ।

बुबा ठेकेदार हुनुहुन्थ्यो । उहाँले धेरै पढ्न पाउनु भएन । आफु पढ्न नपाएपनि छोराहरुलाई भने पढाउन कुनै कसर छोड्नु भएन । बुबाले नपढेकाले ठेकेदारीमा ठूलै धाेकाहरू पाउनु भएकाले इखले पनि हाेला हामीलाई पढाउन कुनै कसर बाँकी राख्नुभएन ।

विरगञ्जमा नेशनल मेडिकल कलेज खोल्नमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको महत्वपूर्ण देन छ । हामीहरु नर्सिङ हाेम चलाईरहेका थियौं । २०५६ सालतिरकाे कुरा हो । आम निर्वाचनको कुरा चलिरहेको थियो । नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराई पर्सा क्षेत्र नं. १ बाट निर्वाचनमा उठ्ने तरखर गर्दै हुनुहुँदो रहेछ । तर, यो क्षेत्रमा कांग्रेसले चुनाब जित्ने आधार थिएन । शेरबहादुर देउवाजीसँग उहाँ एकदिन विरगञ्ज आउनु भयो । विरगञ्जमा पनि हामीलाई खोज्दै नर्सिङ हाेम मै आइपुग्नु भाे ।

बिरामीहरुको चापले नर्सिङ हाेम अस्तब्यस्त थियाे । दाइ जैनद्धिन अन्सारी बिरामी हेर्न ब्यस्त हुनुहुन्थ्याे । प्रधानमन्त्री भइसकेको, कांग्रेस सभापति नै हामीलाई खोज्दै आएपछि स्वागत नगर्ने कुरा भएन । दाजुले बिरामी हेर्न छाडेर भेट गर्न तयार हुनुभयो । तर, किसुनजीले बिरामीको उपचारमा बाधा पुग्छ भनेर नर्सिङ होममा भेटघाट गर्न मान्नु भएन । बरु बेलुकी घरमै भेटघाट गर्ने भन्नु भयो । उहाँकै भनाई अनुसार बेलुकी घरमै भेटघाट गर्ने तयारी गरेर दाजूले दिनभर नर्सिङ होममा बिरामी हेर्नुभयाे ।

राजनीतिमा नलागेपनि विरगञ्जमा हाम्रो राम्रै थियो । मुस्लिम समुदायसँगै अन्य समुदायका मान्छेहरुसँग मित्रवत सम्बन्ध थियो । अस्पताल भएको त्यसमाथि दाजु नेपालकै राम्रो सर्जन भएकाले हामीले भनेको कुरा विरगञ्जमा कसैले काट्दैनथे । भेटमा कृष्णप्रसाद भट्टराईले पर्सा १ बाट चुनाब लड्न चाहेकोले सहयोग गर्नुपर्छ भन्नुभयाे ।  

त्यतिञ्जेलसम्म हामीलाई राजनीतिको ‘र’ पनि थाहा थिएन । हामी कुनै पार्टीमा थिएनौं । एक्कासी कृष्णप्रसाद भट्टराईलाई चुनाबमा सघाउनु पर्ने प्रस्ताव आएपछि सुरुमा त अलमलमा पर्यौं । दाजूले त ‘राजनीतिमा लाग्नु हुँदैन, फाप्दैन’ भन्नुभयो । तर, किसुनजी नै घरमा आएर सहयोग मागेपछि कसरी खाली हात फर्काउने ! अन्तिममा सहयोग गर्ने भइयो ।

चुनाबमा सहयोग त गर्ने तर, कसरी ? न बलियो संगठन थियो नत हामीसँग कुनै अनुभव नै । तैपनी हामी विरगञ्जमा सबैसँग घुलमिल भएको र बुबाको पालादेखि नै ब्यापार, ठेक्कापट्टा सँगै सामाजिक क्षेत्रमा पनि काम गर्न थालेकाले नचिन्ने थिएनन् । म काठमाडौंको क्षेत्रपाटीमा फर्मा ट्रेडर्स चलाएर बसेको मान्छे किसुनजीलाई जिताउनकै लागि विरगञ्ज गएँ । कांग्रेसको संगठन बनाउने, गाउँगाउँमा किसुनजीलाई लैजाने, स्थानीय अगुवाहरुलाई आफ्नो पक्षमा पार्ने काममा हाम्रो पुरै परिवार लाग्यो । हाम्राे पुरै परिवार किसुनजीकाे पक्षमा उत्रिएपछि माहाैल बन्न थाल्याे ।

त्यसबेला किसुनजीलाई हराउनु पर्छ भनेर ठूलै योजना बनाइएको थियो । किसुनजीको प्रत्यासीमा चिरञ्जिवी आचार्य उठ्नु भएको थियो । २०४८ सालमा आफैंले गराएको निर्वाचन र २०५१ सालको मध्यावधीमा पराजित किसुनजीलाई पर्सा १ बाट चुनाब जिताउन ठूलै चुनौति थियो ।

तर, उहाँको लागि हाम्रो सिंगो परिवार लागेकाले विस्तारै माहौल बन्दै गयो । निष्पक्ष निर्वाचन भए ६० प्रतिशत मत ल्याएर जितिन्छ भन्ने थियो । तर, निर्वाचनमा धाँधली हाेला भन्ने त्रास पनि थियाे । धाँधली र सड्यन्त्र नहोस् भनेर रातभर गस्ती गर्ने, युवाहरु परिचालन गर्ने, सड्यन्त्र गर्नेलाई गाउँगाउँबाट खेदाउन सक्रिय भयौं ।

नभन्दै हामीले अनुमान गरे जस्तै उहाँ ६० प्रतिशत मत ल्याएर विजयी हुनुभयो । उहाँले २४ हजार बढी मत पाउनु भयो । नेपाली कांग्रेसको सभापति, पूर्वप्रधानमन्त्री सन्त नेतालाई जिताउन पाएकोमा उहाँलाई भन्दा बढी हामीलाई सन्तोष भाे । किनभने, उहाँले हारेको भए विरगञ्जमा हाम्रो हार हुन्थ्यो । किसुनजी त चुनाब हारिन्छ भनेर काठमाडौंबाट आउनै मान्नु भएको थिएन । हामीले हेलिकप्टरमा आउनुस भन्यौं तर, डराउनु भयो । सामान्य कारमा आउनु भयो । हामीले किसुनजीलाई जसरी पनि जिताएरै पठाउँछौं भनेर बाचा गरेका थियौं । उहाँले राम्रो मत ल्याएर चुनाब जित्नुभयो । त्याे निर्वाचनमा मैले महशुष गरें राजनीति ।

चुनाब जितेर गएपछि उहाँ दोश्रो पटक प्रधानमन्त्री बन्नुभयो । सारै सालिन, भद्र नेता । चुनाबमा उहाँले पर्सा क्षेत्र नं. १ र विरगञ्जको लागि दुई चारवटा बाचा गर्नु भएको थियो । प्रधानमन्त्री बनेपछि त्यो पुरा गर्नुभयो । उहाँले नै हो हामीलाई मेडिकल कलेज खोल्न प्रस्ताव गर्नु भएको ।

त्यसबेला विरगञ्जमा मात्र हैन पुरै तराईमा ठूला अस्पताल थिएन । नारायणी अञ्चल अस्पतालको सेवा प्रभावकारी थिएन । कुनै गम्भिर दुर्घटना भइहाले, बिरामी भइहाले कि काठमाडौं पुर्याउनु पर्दथ्यो, कि भारत । किसुनजीले हाम्रो नर्सिङ होममा बिरामीको पिडा हेर्नु भएको थियो । उहाँले नै भन्नु भयो । ‘यहाँ मेडिकल कलेजको आवश्यक्ता छ । मेडिकल कलेज खोल्ने हो भने तयारी गर्नु म सहयोग गर्छु ।’ त्यसबेला भर्खर भर्खर मेडिकल कलेजहरु खोल्दै थिए । धरानमा वीपी कोइराला मेडिकल कलेज, भैरहवामा युनिभर्सल मेडिकल कलेज खुलेका थिए । हाम्रो त सपना नै थियो विरगञ्जमा एउटा सुविधा सम्पन्न अस्पताल सहितको मेडिकल कलेज खोल्ने । किसुनजीबाटै यस्तो प्रस्ताव आएपछि हामी के गर्ने दाेधारमा पर्यौं ।

मेडिकल कलेज खोल्ने त भन्यौं तर, हामीसँग पूर्वाधार केही थिएन । त्यही एउटा नर्सिङ होम थियो । आइडिया पनि केही थिएन । १९९८ मा भैरहवामा युनिभर्सल मेडिकल कलेज स्थापना भएको थियो । दाजुसहित युनिभर्सल मेडिकल कलेज हेर्न गयौं । त्यो त कृषि अध्ययन केन्द्रको स–साना टहरामा पो रहेछ, धरानको वीपी प्रतिष्ठान हेर्न गएको भए हामी कलेज खोल्ने आँट गर्न सक्दैनथ्यौं । …….
क्रमसः

संम्बन्धित समचार

Leave a Reply