फागुन ६, काठमाडौं । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आफ्नो प्रभावशाली यात्रा कायमै राखेको छ ।
चोटका कारण दुई स्टार खेलाडी नेइमार र एडिन्सन काभानी बिहीन भएको पिएसजीले लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा सेन्ट–एन्टिएनलाई १–० ले हराएको हो ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा पिएसजीका लागि केलियन एमबाप्पेले विजयी गोल गरेका हुन् । एमबाप्पेले ७३ औँ मिनेटमा गरेको गोल पिएसजीको जितमा निर्णायक बन्यो ।
एमबाप्पेले लिग वानमा यो सिजन १९ गोल गरिसकेका छन् । उनले डानी अल्भेसको पासमा आइतबार रातिको खेलमा टिमका लागि विजयी गोल गरेका हुन् ।
जितपछि शीर्षस्थानको पिएसजीको २३ खेलबाट ६२ अंक भएको छ र दोस्रो स्थानको लिलेभन्दा १२ अंकले अघि छ ।
आइतबार राति नै भएको खेलमा लिले मोन्टपिलरसँग गोलरहित बराबरीमा रोकियो र उसको २५ खेलबाट ५० अंक छ ।