फागुन ६, काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिड पराजित भएको छ ।
गएराति भएको खेलमा रियाल मड्रिडलाई तालिकाको १५ औं स्थानमा रहेको जिरोनाले २–१ ले हरायो ।
रियाल मड्रिडको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि क्यासेमिरोले पहिलो गोल गरे । तर जिरोनाका क्रिस्चियन स्टुवानी र पोर्टुले एक एक गोल फर्काउँदै पाहुना टोलीलाई विजयी गराए ।
खेलको इन्जुरी समयमा कप्तान सर्जियो रामोसले रातो कार्ड पाएपछि रियाल मड्रिड १० खेलाडीमा समेटिएको थियो ।
यो खेलपछि रामोस ला लिगामा सर्वाधिक रातो कार्ड पाउने खेलाडी बनेका छन् । उनले करियरमा ला लिगामा मात्रै २० वटा रातो कार्ड खाएका छन् ।
हारपछि रियाल मड्रिडले तालिकाको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । तेस्रो स्थानको रियालले २४ खेलबाट ४५ अंक जोडेको छ ।
समान खेलबाट ५४ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ४७ अंक छ ।