पुस १८,धादिङ । सिद्धलेक गाउँपालिका वडा नं १ बैरेनीमा रहेको एक कम्प्युटर गोदाममा गएराती आगालागि भएको छ । नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसीमा दर्ताभई सञ्चालनमा रहेको प्रतीक कम्युटर एण्ड ट्रेनिङ सेन्टरको बैरेनी स्थित गोदाममा आगलागि हुँदा ९० लाखभन्दा बढिको क्षति भएको सेन्टरका सञ्चालक तिलक सिंखडाले बताए ।
मध्यराती भएको आगलागि नियन्त्रण गर्न नीलकण्ठ नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयबासीलाई करिव ३ घण्टा लागेको स्थानीय भगवान भट्टले बताए।कम्प्युटर गोदाममा नयाँ र विभिन्न व्यक्ति तथा संघरसंस्थाका मर्मत गर्न ल्याइएका कम्प्युटर, ल्यापटप, विद्युत इन्भर्टर, एसि लगायतका समानहरु रहेको पनि सिंखडाले बताए ।
एकान्तमा रहेको गोदाममा विद्युत शर्ट भएर आगलागि भएको आशंका गरिएको छ । नजिकमा मानिसको बसोबास नरहेको र अन्य कतै आगो बालेको नभेटिएकाले विद्युत शर्ट भई आगलागि भएको हुनसक्ने बैरेनी प्रहरी चौकिका असई राजिव बैठाले बताए । प्राम्भिक अनुमानमा ९० लाख बढिको क्षति भएको देखिएको भन्दै असई बैठाले घटनाको थप विवरणकालागि अनुसन्धान भैरहेको र विज्ञ टोलीको अध्ययनपिछ मात्रै क्षति विवरण एकिन हुने जानकारी दिए ।
विगत २० वर्षदेखि सञ्चालनमा रहेको सेन्टरले नीलकण्ठ ३ मा रहेको भाडाको गोदाम सारेर ६ महिनादेखि सिद्धलेक १ बैरेनीमा सामग्रीहरु गोदाम गर्दै आएको थियो । सेन्टरका सञ्चालक सिंखडा धादिङ उद्योग बाणिज्य संघका महासचिव समेत रहेका छन् ।