दुर्घटनामा हातखुट्टा गुमाएकी धादिङकी रुकुशाको आँट : म नयाँ जिवनको अभ्यासमा छु, नाचेरै सबैलाई खुसी पार्छु’

Post Thumbnail

राज ढुंगाना

फागुन ७,काठमाडौँ । केही दिनअघि धादिङको थाक्रे गाँउपालिकामा महादेवबेशी महोत्सवमा एक खुट्टाले नाच्ने १५ बर्षिया रुकुशा थापाले माया लुकी लुकी बोलको गितमा नाचेर सबैको मन जितिन् । सयौँ दर्शकहरुको भिडमा उनले एक खुट्टाले नाचेपछि दर्शकदिर्घाबाट परर् ताली पड्कियो । उनको नाच हेरेर मञ्चमा आसिन अतिथीहरुले तत्कालै केही रकम संकलन गरेर उनलाई सहयोग गरे । उनको खुट्टामात्रै हैन एउटा हात पनि छैन । नाचेर केही आराम गरिसकेपछि उनले भनिन्–आज यो गितमा तयारी गरेकै थिईन् । तर मैले जतिसक्दो नाच्ने प्रयास गरेँ । उनले विभिन्न नयाँ तथा पुराना गितहरुमा नाच्न अभ्यास गर्ने र त्यही प्रस्तुती कार्यक्रमहरुमा दिदैँ आईरहेको अनलाईन केन्द्रलाई बताईन ।

दुर्घटनाले गुम्यो एक हात,एक खुट्टा

धादिङको साविकको भुमेस्थान ८ की रुकुशा जन्मजात अपाङ्ग होईनन् । उनको रमाईलो जिन्दगी बितिरहेको थियो । सबै ठिकै थियो । स्कुल जान्थिन,पढ्थिन । घर आउथिन् साथीसंग खेल्थिन् । तर उनको जिन्दगीमा २०६९ चैत्र ५ गते दर्दनाक दिन भएर आयो । उनि घरबाट दुध डेरीमा पुर्याउन सिम्लेमा बजारमा थिईन् । अचानक एउटा ट्रकले उनलाई ठक्कर दियो । घटनापछि लामो समय उनको बि एण्ड बि अस्पतालमा उपचार भयो । उपचार त भयो तर उनको  हात र एक खुट्टा काम नलाग्ने अवस्थामा पुग्यो । अन्तत उनले ती अंग गुमाईन ।

नयाँ जिवनको अभ्यासमा छिन रुकुशा

उनलाई थाहा छ मेरो एक हात र एक खुट्टा छैन, तर पनि जिवनबाट हरेश खाएकी छैन् । घटना हुँदा उनि कक्षा पाँचमा गाँउकै एक बिद्यालयमा पढ्थिन । घटना पछि सबैले उनलाई अब विगत नसम्झन भन्दै उत्प्रेरणा दिने प्रयत्न गरे । परिवारले पनि उनलाई साथ दियो । अहिले उनि गल्छी स्थित सक्सेस एकेडेमीमा कक्षा ८ मा पढ्छिन । जिवनमा केही गर्नुपर्छ भन्ने उनको एकमात्र उदेश्य छ । उनले एक खुट्टाले भएपनि राम्रो नाचेर सबैको मन जित्ने बताईन । उनी भन्छिन– पढ्नु मेरो पहिलो काम हो, त्यसपछि नृत्य । घरमा उनि बहिनीहरुसंग नाच्ने अभ्यास गर्छिन । नयाँ–नयाँ गितमा उनि ताल मिलाएर नाच्ने प्रयत्न गर्छिन । उनलाई थाहा छ, एक खुट्टाले नाच्ने काम कम्ति गाह्रो छैन, तर मेरो पहिचान नै अब एक उत्कृष्ट नृत्य कलाकार हो । उनले अनलाइन केन्द्रलाई भनिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस