दहचोकको आकर्षण : काजी पाँडेको सालिक

फागुन ७, काठमाडौं । आधुनिक नेपालका निर्माता पृथ्वीनाराण शाहका सेनापति काजी कालु पाँडेको पूर्ण कदको सालिक निर्माण गरिएको छ ।

चन्द्रागिरि नगरपालिका–१ दहचोकमा रहेको पाँडेको समाधिस्थल नजीकै राखिने सालिक पुरातत्व विभागको सहयोगमा करीब रु १० लाखको लागतमा निर्माण गरिएको उक्त वडाका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिए । उनका अनुसार यही फागुन ९ गते उक्त सालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नेछन् ।

काठमाडौँको पश्चिममा अवस्थित दहचोक क्षेत्र धार्मिक तथा ऐतिहासिक महत्वको पुरातात्विकस्थलसमेत हो । कीर्तिपुरको लडाइँमा वीरगति प्राप्त गरेका सेनापति पाँडेको इच्छाअनुसार शिर गोरखा देखिने गरी समाधि गरिएको इतिहास पाइन्छ ।

मुलुकको एकीकरणका क्रममा कीर्तिपुर र काठमाडौँ आक्रमण गर्दा सैनिक तथा हातहतियार राखिएको उक्त स्थानमा विभिन्न गढीका साथै कोतघर रहेको र गोरखास्थित मनकामनाको शक्ति प्रतिस्थापन गरिएको प्रतीकात्मक मनकामना मन्दिर स्थापना गरिएको छ ।

उक्त स्थलबाट उत्तर एवं पश्चिमतर्पmका अधिकांश हिमालहरु मनास्लु, लामटाङ, गणेश, अन्नपूर्णलगायत शिवपुरी, नागार्जुन, फुल्चोकी, चम्पादेवी, चन्द्रागिरि डाँडासमेत अवलोकन गर्न सकिन्छ । त्यसैगरी इन्द्र इन्द्रायणी एवं भष्मेश्वर महादेवको मन्दिर एवं दक्षिण पूर्वतर्फ रहेको बिन्ध्यवासिनी मन्दिर तथा स्विट्जरल्याण्ड पार्कले रौनकता थपेको छ । सरकारले मुलुकका पछिल्लो १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा यस क्षेत्रलाई सरकारले सूचीकृत गरेको छ ।

काठमाडौँको नैकाप डाँडादेखि इन्द्रदह हुँदै नागढुङ्गासम्मको विभिन्न पर्यटकीयस्थललाई एउटै प्याकेजमा व्यवस्थापन गरी स्थानीय पर्यटन विकासका योजनाका लागि गृहकार्य भइरहेको छ ।

उक्त योजनमा सरकारी तथा गैरसरकारी क्षेत्रको सहभागितामा पर्यटक पदमार्ग विश्रामस्थल, साइकल ट्रोल, घरबास, होटल, सेमिनार हल, पार्कहरुलगायत अत्यावश्यक पर्यटकीय पूर्वाधारको विकास गर्ने लक्ष्य राखिएको छ ।

समाधिस्थल नजीकै दृश्यावलोकनका लागि पाँचतले ‘भ्यू–टावर’को निर्माण कार्य भइरहेको छ । आगामी ५ वर्षभित्र यस क्षेत्रमा आन्तरिक तथा बाह्य पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । यसबाट आन्तरिक एवं बाह्य पर्यटनलाई आकर्षित गरिनेछ ।

यस क्षेत्रको पूर्वाधार विकासका लागि चालू आवमा काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठको सिफारिशमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्पmत रु ५० लाख तथा चन्द्रागिरि नगरपालिका–१ को विनियोजित बजेट रु ८९ लाख विनियोजन गरिएको थियो ।

भौतिक संरचनाको विकास, कच्ची सडकको कालोपत्रका साथै स्तरोन्नतिका लागि नपुग केही रकम आगामी आवमा थप गरिने वडाले जनाएको छ । पर्याप्त पर्यटनको सम्भावना भएर पनि यस क्षेत्रको अपेक्षाकृत विकास हुन सकेको छैन ।

विसं २०७३ मा इन्द्रदह एकीकृत पर्यटन विकास समिति गठन गरिएको छ । दहचोक लगायतका स्थानीय समाजसेवी, बुद्धिजीवी लगायतले यस क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक सुझाव तथा अनुभवको आदान–प्रदान गरेका छन्।

नेपाल भ्रमण सन् २०२० लाई लक्ष्य गरी यस क्षेत्रको पूर्वाधार तथा पर्यटकीयस्थलको विकास, संरक्षण गरिनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एवं नगरपालिकाको समन्वयमा गुरुयोजना तयार गर्ने कार्यसमेत भइरहेको बुझिएको छ । रासस

संम्बन्धित समचार

Leave a Reply