बी डिभिजन लिग : झम्सिखेल विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन ७, मंगलबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

फागुन ७, काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा झम्सिखेल युथ क्लबले श्री कुमारी युथ क्लबलाई १–० ले पराजित गरेको छ ।

एन्फा मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा श्री कुमारीका यज्ञ प्रधानले खेलको ८४ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । त्यही गोल झम्सिखेललाई तीन अङ्क दिलाउन महत्वपूर्ण बन्यो ।

राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा दुई समूहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । लिगको विजेता टोलीले आठ, उपविजेताले पाँच, तेस्रो हुनेले तीन र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागततर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गर्नेछन् ।

आर्मी सेमिफाइनलमा पराजित

विभागीय टोली त्रिभुवन आर्मी क्लब भूटानमा जारी जिग्मे दोर्जी बाङ्चुक स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सीमित आर्मी क्लब भूटानको पारो फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित भयो । पारोको जीतमा दिवस सुब्बाले निर्णायक गोल गरे । उनले खेलको ८६औँ मिनेटमा गोल गरे ।

आर्मी पहिलो हाफको ३२औँ मिनेटमै १० खेलाडीमा सीमित भएको थियो । आर्मीका कप्तान भरत खवास दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । यसअघि प्रतियोगितामा क्वार्टरफाइनलमा आर्मीले शुक्रबार भूटानको थिम्पु सिटीलाई ६–० को भारी अन्तरले पराजित गरेका थियो । पारोले उपाधिका लागि थ्रीस्टार र भारतको युनाइटेड ब्रदर्शबीचको विजेतासँग खेल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस