प्रधानमन्त्रीद्वारा बोगटान कालोपत्र सडक शिलान्यास

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन ७, मंगलबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ७, काठमाडौं । प्रधानमन्त्री एव नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार सहजपुर–बोगटान सडक कालोपत्रको शिलान्यास गरेका छन् । डोटीको बिपिनगरमा आज आयोजना गरिएको सो सडक शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीले बोगटानलगायत समग्र डोटेली जनताका सुखका दिन आएको बताए।

उनले भने, ‘अब तपाईंहरुको घरछेउमै पिच सडक हुनेछ, आफूले सक्ने खालको व्यवसाय गर्नुहोस्, व्यापारी तपाईंकै घरमा पुग्नेछन् ।’

प्रधानमन्त्री ओलीले अहिलेको सरकार ५ वर्षसम्मका लागि भएकाले विकासका काम गर्नमा कुनै कसर बाँकी नराख्ने बताए। उनले थप भने, ‘पाँच वर्षभित्रमा हामी देशको विकास गरेर मुहार नै फेर्ने योजनामा छौँ, जनतालाई सहज र सुविधा हुने विकास यो सरकारले गर्छ ।’

कच्ची सडक शिलान्यास भएको ३३ वर्षपछि यस सडक कालोपत्र गर्ने कार्यको शुरुआत भएको हो । पूर्वमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य लेखराज भट्ट र डोटीबाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रेमबहादुर आले मगरले लामो समयदेखि बोगटान सडक कालोपत्रका लागि पहल गर्दै आएका थिए ।

उक्त आयोजनालाई सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा छनोट गरेको छ । उक्त सडक कैलालीको सहजपुरदेखि डोटीको बडिकेदारसम्म ५० किलोमिटर रहेको छ । यस सडक कालोपत्रका लागि रु दुई अर्ब पाँच करोड बजेट विनियोजन गरिएको छ ।

कालोपत्र गर्ने कार्य ३० महीनाभित्र सम्पन्न गरिने कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्र्याक्ट म्यानेजर ईश्वर बस्नेतले जानकारी दिए ।

आर्थिक समृद्धिमा मेरुदण्ड मानिएको सो सडकले कैलालीका तत्कालीन दुई र डोटीका १७ गाविसका बासिन्दालाई प्रत्यक्ष लाभ मिल्नेछ । सहजपुरदेखि बडिकेदार गाउँपालिका हुँदै डोटीको बोगटानको सिमचौर भएर दीपायल जोड्ने उक्त सडक २०४२ सालमा कच्ची सडकका रुपमा शिलान्यास भएको थियो । रासस

ताजा अपडेट

खोजी गर्नुहोस