कोशीका मुख्यमन्त्री कार्कीको सम्पत्ति : ७ वटा घडेरी, २५ तोला सुन, ८० तोला चाँदी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ ४, बिहिबार (३ महिना अघि)
  • ६ पटक पढिएको
कोशीका मुख्यमन्त्री कार्कीको सम्पत्ति : ७ वटा घडेरी, २५ तोला सुन, ८० तोला चाँदी

माघ ४, काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू शम्शेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

मोरङको बूढीगंगा गाउँपालिका २ स्थायी ठेगाना भएका मुख्यमन्त्री कार्कीको श्रीमती शान्तादेवी बस्नेतको नाममा बूढीगंगामा १ कठ्ठा १२ धूर जग्गा छ । सम्पत्ति विवरणअनुसार उनको बूढीगंगा र विराटनगरमा गरेर ७ वटा घडेरी छन् । उक्त जग्गाको मूल्य १ करोड ५६ लाख ९९ हजार बराबरको रहेको उल्लेख छ ।

यस्तै उनको परिवारमा विवाह, उपहार तथा खरिद गरेको २५ तोला सुन र चाँदी ८० तोला रहेको उल्लेख छ । यस्तै श्रीमती बस्नेतकै नाममा विभिन्न बैंकमा ७ लाख ९४ हजार रुपैयाँ नगद छ । उक्त रकम तलब भत्ता, बचत र ब्याजबाट आम्दानी गरेको उल्लेख छ ।

यस्तै विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको सेयर आफ्नो, श्रीमती र परिवारको सदस्यको नाममा १ लाख ८७ हजारको रहेको छ। कृषि विकास बैंकको हालको मूल्य ५ लाख ६३ हजार ४५६ मूल्य बराबरको २ हजार २७२ कित्ता रहेको छ । यस्तै १ करोड ८ लाख २ हजार ऋणमध्ये मुख्यमन्त्री कार्कीले ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् । श्रीमती बस्नेतको नाममा ३ लाख १८ हजारको एक थान स्कुटर मात्र रहेको उल्लेख छ। विराटनगरको सबै जग्गा विभिन्न ठाउँको जमिन बिक्रीबाट खरिद गरेको कार्कीले खुलाएका छन् ।

त्यस्तै सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले इलामको रोङ गाउँपालिका ४ र ६ को ५ ठाउँमा जग्गा रहेको खुलाएका छन्। १० तोला सुन र बैंक मौज्दात ६२ हजार र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आफ्नो परिवारको सदस्य मालती राईको नाममा १ लाख ५० हजार रुपैयाँ बराबरको शेयर पुँजी रहेको राईले उल्लेख गरेका छन् ।

यस्तै भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूले पाँचथरको फालेलुङ १, फालुलुङ २ र झापाको मेचीनगर नगरपालिका ५ मा ६ कित्ता जग्गा रहेको सार्वजनिक गरेका छन्। यस्तै ११ तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख गरेका छन् । उनको १ लाख रुपैयाँ बैंक मौज्दात रहेको र अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता सेयर रहेको खुलाएका छन् ।

त्यस्तै वन, पर्यटन तथा वातावरणमन्त्री गणेश उप्रेतीले श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा १ कट्ठा ५ धुर र सुनसरीको इटहरीमा ११ धुर जग्गा रहेको उल्लेख गरेका छन् । उनको परिवारसँग १० तोला सुन र २० तोला चाँदी तथा विभिन्न बैंकमा परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद रहेको उल्लेख गरिएको छ । उप्रेतीको परिवारको नाममा विभिन्न वित्तीय संस्थामा १ हजार ४ सय ५० कित्ता सेयर रहेको सम्पत्ति विवरणमा खुलाइएको छ ।

उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा ३९ लाख ५० हजार ऋण तिर्न बाँकी रहेको देखाएका छन् । कोशी प्रदेशमा नयाँ सरकार गठन भएको एक सय दिन पुग्नै लाग्दा बुधबार मात्रै मुख्यमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस