चिनियाँ कम्पनीले लिएका पुर्वाधारका परियोजनामा किन ढिलासुस्ती ?

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०८० माघ १५, सोमबार (३ महिना अघि)
  • १  पटक पढिएको
चिनियाँ कम्पनीले लिएका पुर्वाधारका परियोजनामा किन ढिलासुस्ती ?

माघ १५,काठमाडौँ । सडक पूर्वाधारमा सबैभन्दा बढी ठेक्का लिनेमा चिनियाँ कम्पनी छन् । तर, तिनले लिएका प्रायः ठेक्काको प्रगति भने निकै सुस्त देखिएको छ भने कतिपयको पटक–पटक म्याद थप गर्दा पनि काम अघि बढ्न सकेको छैन । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ठेक्का लिएको १ सय १३ किमि नारायणगढ–बुटवल सडकखण्ड विस्तारको अवस्था सन्तोषजनक छैन । उक्त सडकखण्डको प्रगति नहुँदा २०७९ असोज पहिलो साता एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिइयो । तर ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । ठेकेदार कम्पनीले काम अघि बढाएन, बरु ढाँटिरह्यो । काममा प्रगति नभए पनि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थप गरियो ।

चाइना स्टेट कन्स्ट्रक्सनले काठमाडौं तराईरमधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा सुरुङ निर्माणको ठेक्का लिएको छ । उक्त कम्पनीले छोक्रेडाँडादेखि धद्रेसम्म सुरुङ निर्मााण्को ठेक्का लिएको हो । अर्को चिनियाँ कम्पनी पोली च्याङ्दाले पनि फास्ट ट्र्याककै धद्रेदेखि लेनडाँडासम्म सुरुङ निर्माणको ठेक्का लिएको छ । दुवैको ठेक्का तीन वर्षभित्र सक्ने गरी २०७८ वैशाख ३१ मा सम्झौता भएको हो । समयमै र गुणस्तरीय काम नगरेको भन्दै यी कम्पनी २०७९ जेठ ९ मा निलम्बनमा परेका थिए । तर पछि तिनै कम्पनीबाटै काम गराइएको छ । म्याद सकिन साढे तीन महिना मात्रै बाँकी रहँदा सुरुङ निर्माणको प्रगति ५६ प्रतिशत मात्रै छ ।

कञ्चनपुर–कमला सडकको ठेक्का पनि चिनियाँ कम्पनीले नै लिएको छ । चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कम्पनीले १५ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का लिएको हो । ८६.८२ किमि दूरीको कञ्चनपुर–कमला खण्डको ठेक्का सम्झौता २०७७ कात्तिक १३ मा भएको हो । सम्झौताअनुसार २०८० कात्तिक ११ भित्र निर्माण सकिसक्नुपर्ने हो । अहिलेसम्म निर्माण प्रगति ४१.४७ प्रतिशत मात्र छ ।

ल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको दूरी ८२ किमि छ । यसअन्तर्गत स्याफ्रुबेसी–रसुवागढी खण्डको दूरी मात्र १७ किमि छ । जुन खण्ड चीन सरकारले अनुदानमा निर्माण गर्ने भनिए पनि कोभिड अघिदेखि रोकिएको काम सुरु हुन सकेको छैन । अहिलेसम्म यो खण्डमा प्रगति नभएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।

यता चक्रपथ दोस्रो खण्ड विस्तारको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) एक वर्ष बित्दा पनि अझै चिनियाँ कम्पनीले पूरा गर्न सकेका छैनन् । डीपीआर तयार नहुँदा विस्तारको काम अघि बढ्न नसकेको हो । दुई महिनाभित्र तयार पार्ने भन्दै २०७९ फागुनमा डीपीआरको काम थालिएको थियो ।

पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडकखण्ड स्तरोन्नतिको काम थालेको तीन वर्षमा भौतिक प्रगति निराशाजनक छ । आँबुखैरेनी–जामुने पहिलो (पूर्वी) र जामुने–पोखरा दोस्रो (पश्चिम) गरी दुई खण्डमा विभाजन गर्दै ०७७/७८ मा यसको ठेक्का भएको हो । ०८१/८२ भित्र सकिसक्नुपर्ने गरी १३ अर्ब ६ करोड रुपैयाँमा ठेक्का भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस