फागुन १०, पाल्पा । रामपुर र चापाकोटलाई जोड्ने कालीगण्डकीमा आँधीघाटबर्दले–पक्की पुल शिलान्यास भएको छ । पाल्पाको रामपुर नगरपालिका–१० र स्याङ्जाको चापाकोट नगरपालिका–१० जोड्ने त्यस पुलको मुख्य सचिव लोकदर्शन रेग्मीले बिहीबार शिलान्यास गरे ।
मुख्य सचिव रेग्मीले पुलमा गाडी वारपार गर्नका लागि मात्र नभई रामपुर र चापाकोट क्षेत्रको समृद्धिका लागि समेत महत्वपूर्ण हुने धारणा व्यक्त गरे । उनले पुल निर्माण तोकेको मितिभित्रै सम्पन्न गर्न अनुरोध गरे। मुख्य सचिव रेग्मीले कालीगण्डकीमा निर्माण कार्य रोकिएको निर्दिमघाट र दामाचौर प्याक्लुकघाट पक्की पुलको निर्माण कार्य अघि बढाएर तीन वटै पुलको उद्घाटन एकैसाथ गर्ने बताए । कार्यक्रममा सडक विभागका उप(महानिर्देशक दीपक भट्टराईले निर्माण कम्पनीले काम छिटो सक्ने मात्र नभई गुणस्तरमा पनि उत्तिकै ध्यान दिएर काम गर्न सुझाव दिए। यस्तै वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाणले पुलले कालीगण्डकी बेशीको आर्थिक समृद्धिलाई उकास्ने बताए ।
सपना महादेव खिम्ती दिवा जेभीले २०७४ साल मङ्सिर २२ गते ठेक्का सम्झौता गरी त्यो पुलको निर्माण कार्यको जिम्मा लिएको थियो । भ्याटसहित २८ करोड ४० लाख रुपैयाको लागतमा २०७७ साल मङ्सिरसम्म काम सक्ने गरी काम थालिएको नेपाल निर्माण व्यवसाय महासङ्घका अध्यक्ष रवि सिंले जानकारी दिए ।
पुलले कालीगण्डकी वारिपारिका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, चापाकोट नगरपालिका, गल्याङ नगरपालिका र वालिङ नगरपालिकालाई जोड्नेछ । पुल निर्माण हुने भएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । रासस