कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुँदै

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८० माघ २५, बिहिबार (३ महिना अघि)
  • ८ पटक पढिएको
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुँदै

माघ २५, मोरङ । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुँदैछ । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको ‘प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले वार्ता समिति गठन गरेपछि आज सरकारसँग वार्ता हुन लागेको हो ।

पहिचानसहित कोशी प्रदेशको पुनः नामाकरण गरिनुपर्नेलगायतका माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले बुधबार ११ सदस्यीय वार्ता समिति गठन गरेको थियो । यसअघि कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षधर पहिचानवादीसँग वार्ताका लागि भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । प्रदेश सरकार र आन्दोलनरत पक्षबीच दिउँसो ३ बजे विराटनगरको एक होटलमा वार्ता हुनेछ ।

गत फागुन १७ को प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचान पक्ष पुनः नामकरणको माग गर्दै आन्दोलनमा छ । त्यस क्रममा पहिचान पक्षका पदम लिम्बूको मृत्यु भएपछि आन्दोलन झन् सशक्त बनेको थियो । उनीहरूले संघीय र प्रदेशका मन्त्री तथा सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा आउजाउसमेत ठप्प गर्दै आएका छन् ।

यसअघि गत असार ४ मा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारसँग आन्दोलनरत पक्षले गरेको वार्ता निष्कर्षविहीन बनेको थियो । त्यसपछि असार १३ मा सरकारले पुनः वार्तामा बोलाए पनि पहिचान पक्षधर वार्ता अस्वीकार गर्दै आन्दोलनमा उत्रिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस