प्रथम जितपुरसिमरा महोत्सव २०८० हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन २, बुधबार (२ महिना अघि)
  • १  पटक पढिएको
प्रथम जितपुरसिमरा महोत्सव २०८० हुने

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक महोत्सव हुने भएको छ । जितपुरसिमरा नगर उद्योग बाणिज्य संघको आयोजनामा प्रथम जितपुरसिमरा महोत्सव– २०८० हुने भएको हो । आगामी फागुन १८ देखि ३० गतेसम्म जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बजनीमा महोत्सव आयोजना गरिने जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले जानकारी दिए ।

उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको अध्यक्ष शर्माले बताए ।

महोत्सवले स्थानीय कृषि उत्पादनका हिसाबले देशभर प्रख्यात रहेको र बारामा पर्यटनका लागि पनि महत्वपूर्ण छ भन्ने पुष्टि गराउने अध्यक्ष शर्माले बताए । उनले बारामा रहेका विभिन्न मठमन्दिरको प्रचारप्रसारलाई समेत महोत्सवमा जोडिने बताए । महोत्सवले बाराको पहिचान बनाउँदै देशकै उत्कृष्ट महोत्सवका रुपमा स्थापित हुने अपेक्षा रहेको उनको भनाइ छ ।

बाराको आर्थिक तथा सामाजिक उत्थान गर्न कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी, सूचना प्रविधिको प्रदर्शनी, बालबालिका तथा युवाहरुको मुख्य आकर्षण रुपमा रहदै आएको बाल उद्यान, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, संस्कृतिको जर्गेना गर्ने उद्देश्य महोत्सव आयोजना गर्न लागेको अध्यक्ष शर्मा बताए ।

महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा २०० स्टल रहने छन् भने महोत्सवमा तीन लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवर्द्धन एकै थलोबाट यसको गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पुर्‍याउने लक्ष्य रहेको छ ।

महोत्सवले कृषि जन्य घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन गर्न आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्नसमेत सहयोग पुग्ने अपेक्षा आयोजकको छ । त्यस्तै मेलाले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्नेछ । मेलामा कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी गरिनेछ भने विविध सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ ।

महोत्सवमा सबै जातजाति भाषा संस्कृति झल्किने नृत्य गायन कार्यक्रम, नगरपालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरुबीच डान्स आईडल, व्यवसायिक स्टल र नेपाली सेना आर्मीको विषेश कार्यक्रमहरू समावेश गरिएको बताईएको छ । महोत्सवमा ख्यातीप्राप्त कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस