रौतहटमा जग्गा बिवादमा दुई पक्षबीच झडप, एकको मृत्यु

फागुन १२, रौतहट । रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिकास्थित जग्गाको बिषय लिएर भएको दुई पक्षीय झडपमा एक जनाको ज्यान गएको छ भने एक जना पक्राउ परेका छन् ।

दुर्गा भगवती–२ भलोहियामा भएको दुईपक्षीय झडपमा स्थानीय बर्ष ४० का जयप्रकाश दासको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्गा भगवती– २ भलोहिया हाल पिपरा सीमानामा बस्दै गरेका ४० बर्षीय जयप्रकाश दास र सोही स्थानका ५० बर्षीय चन्देश्वर महतोबीच शुक्रवार अपरान्ह झडप हुँदा महतोले दासलाई धकेल्दा उनी भुइँमा लडेका थिए । लडेर अचेत भएका जयप्रकाशलाई गाउँमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न एक जना मानिस पक्राउ गरिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन् । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनास्थल सदरमुकाम गौरदेखि झण्डै १५ किलोमीटर उत्तर पूर्वमा पर्छ ।

संम्बन्धित समचार

Leave a Reply