रुसी सेनामा ५३१ जना नेपाली, २७२ जना सम्पर्कविहीन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १३, आईतबार (२ महिना अघि)
  • ० पाठक संख्या
रुसी सेनामा ५३१ जना नेपाली, २७२ जना सम्पर्कविहीन

फागुन १३,काठमाडौँ । रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले रुसी सेनामा पाँच सय ३१ जना नेपाली रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । अभियानले हिजो काठमाण्डौमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्याङ्क अनुसार १६ जनाको ज्यान गएको छ । उनीहरुको काजक्रिया पनि भइसकेको छ ।

यस्तै एक सय १६ जना घाइते र दुई सय ७२ जना सम्पर्कविहीन रहेका अभियानको दाबी छ । अभियानकी संयोजक कृतु भण्डारीले सम्पर्कमा आएका पीडित परिवारका आधारमा तथ्याङ्क तयार पारेको बताउनुभयो । उहाँले रुसी सेनामा रहेका नेपाली युवाको उद्धारका लागि सरकारलाई दबाब दिन विवरण सङ्कलन थालेको बताए ।

सम्पर्कमा आएका पाँच सय ३१ जनामध्ये एक सय २७ जनाका परिवारले घर फर्काउन पहलका लागि विवरण टिपाएका छन् । उनीहरू अहिले पनि रुसी सेनामा कार्यरत छन् । रुसी सेनामा रहेका एक हजारभन्दा बढी युवाका परिवार अनौपचारिक रुपमा आफ्नो सम्पर्कमा आएको भण्डारीले बताए ।

यसैबीच रुसी सेनामा ज्यान गुमाएका युवाका परिवाजनले हिजो बेलुका पशुपतिनाथ परिसरमा रहेको भश्मेश्वरघाटमा दीप प्रज्वलन गरेका छन् । ज्यान गुमाएका युवाको आत्माको शान्तिका लागि दीप प्रज्वलन गरिएको परिवारजनले बताएका छन् ।

अभियानले रुसी सेनामा रहेकोहरुको सकुशल घर फिर्ताका लागि व्यवस्था गर्नुपर्नेलगायत विषय उल्लेख गर्दै काठमाण्डौमा रहेको रुसी दूतावास, संयुक्त राष्ट्रसङ्घको कार्यालय, विभिन्न राजनीतिक दलका कार्यलयमा ध्यानाकर्षण गराइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस