तृतीय प्रकृतिका हामी ‘थर्डजेन्डरफोबिया’ सहन्नौ अब

 फागुन १८, काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले ‘थर्डजेन्डरफोबिया’ नसहने चेतावनी दिएका छन्। समुदायले भनेको छ,‘अब अति भयो, थर्डजेन्डरफोयिबा सहन्नौ।’ तेस्रो लिङ्गीको बारेमा भ्रम फैलाउने काम नगर्न उनीहरू खबरदारी पनि गरेका छन्। अङ्ग्रेजी नजानेका वा रैथाने पहिचान बोक्ने तृतीय प्रकृतिलाई हेलोहोचो गर्ने प्रवृत्ति निन्दनीय रहेको समुदायले उल्लेख गरेको छ। 

 एसियामै पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल मायाको पहिचान नेपालले बिहीबार विज्ञप्ति निकालेर तेस्रो लिङ्गीको गौरवशाली पहिचानमा हेलोहोचो गर्न थालिएको भन्दै आपत्ति जनाएको हो। 

‘सबै बालक हुर्कँदा पुरुष बन्दैनन्, सबै बालिका पनि हुर्कँदा महिला बन्दैनन्। जन्मँदा बालक जननेन्द्रिय लिएर जन्मेका तर हुर्कँदा केही महिलासँग मिल्ने गुण तथा चिन्हहरू भएका तथा जन्मँदा बालिका जननेन्द्रिय लिएर जन्मेका तर हुर्कँदा केही पुरुषसँग मिल्ने गुण तथा चिन्हहरू भएका हामीहरू प्राग–ऐतिहासिक काल देखि तृतीय प्रकृतिका मानिस भनेर गौरवशाली पहिचान बोकेर आएका छौँ (जसरी महिला प्रकृति र पुरुष प्रकृतिका मानिसहरू हुने गर्दछन्), आजकल चल्तीको भाषामा हामीलाई ‘तेस्रो लिङ्गी’ भनेर पहिचान गरिन्छ,’मायाको पहिचान नेपालले विज्ञप्ति निकालेर भनेको छ,‘नेपालको संविधान र कानुनले पनि हामीलाई, महिला र पुरुषलाई चिनेको सरह, चिनेको छ र ‘अन्य’ भनेर नागरिकता दिन थालेको पनि १ दशक पुगी सक्यो।’

तेस्रो लिङ्गीको अस्तित्व नै हुँदैन भन्दै पारलिंगी मात्र हुने अफवाह फैलाइएकोमा मायाको पहिचान नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘तृतीय प्रकृति (तेस्रो लिङ्गी) को अस्तित्व नै हुँदैन भन्ने, पारलिंगी मात्र हुन्छन् भन्ने, तेस्रो लिङ्गीको बारेमा भ्रम फैलाउने (जस्तै ः पहिलो, दोस्रो, चौथो पाँचौँ लिङ्गी को त भन्ने) काम  हुँदै आएको छ, जुन खेदपूर्ण छ,’अध्यक्ष माया गुरुङ्गले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘बालक जन्मेका व्यक्ति पार लगेर महिला बन्ने भन्ने अर्थमा ‘पारलिंगी महिला’ भनिएको हो भने बालिका जन्मेका व्यक्ति पार लगेर पुरुष बन्ने अर्थमा ‘पारलिंगी  पुरुष’ भनिएको हो। हाम्रो संविधान, कानुनले पारलिंगी पहिचानलाई चिन्दैन र पूर्वीय समाजमा स्थापित पहिचान पनि होइन।’

उच्च अदालत पाटनले समेत हालै ‘पारलिंगी’ बालक जन्मेको व्यक्तिलाई महिलाको नागरिकता दिन अस्वीकार गरिदिएको छ। ‘पारलिंगी’ हुँदै महिला वा पुरुष कै पहिचान बनाउन चाहनेहरूका लागि हामी तेस्रोलिंगीहरुको विरोध पनि छैन, समर्थन पनि छैन,’विज्ञप्तिमा लेखिएको छ,‘आम महिला पुरुषको आपत्ति छैन र राज्यले पारलिंगीहरुलाई ‘महिला वा पुरुष’ कै नागरिकता र राहदानी दिन्छ भने तपाईँहरूलाई हाम्रो शुभकामना छ।’  

विज्ञप्तिमा लैङ्गिक पहिचानको आन्दोलनमा वर्गीय विभाजन ल्याउनु दुखद भएको उल्लेख गरिएको छ। ‘अङ्ग्रेजी भाषा जानेको भरमा र पश्चिमा लैङ्गिक पहिचान बोकेको भरमा आफूलाई उच्च र सभ्य ठान्ने, अनि हामी अङ्ग्रेजी नजानेका वा रैथाने पहिचान बोक्ने तृतीय प्रकृतिलाई हेलोहोचो गर्ने प्रवृत्ति निन्दनीय छ,’विज्ञप्तिमा लेखिएको छ,‘लैङ्गिक पहिचानको आन्दोलनमा यसरी वर्गीय विभाजन ल्याइनु दुखद छ।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले तेस्रो लिङ्गी पहिचानमा गौरव गर्ने उल्लेख गरेका छन्। ‘तेस्रोलिंगी शब्द तेस्रो आँखा भनेको जस्तै हो, जसको मतलब विशेष आँखा, मध्यम आँखा वा झट्ट हेर्दा नदेखिने आँखा भन्ने हुन्छ,’विज्ञप्तिमा लेखिएको छ,‘हामी पनि विशेष लिङ्गी, मध्यम लिङ्गी वा झट्ट हेर्दा नदेखिने लिङ्गका अर्थात् तेस्रो लिङ्गी, तृतीय प्रकृतिका व्यक्ति हौँ, गौरव गर्छौँ हामी हाम्रो पहिचानमा।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफ्नो समुदायको आन्दोलनका अभियन्ता सुनिलबाबु पन्त माथि निरन्तर गालीगलौज गर्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन्। ‘अर्को निकै दुख लाग्दो कुरा भनेको बितेको १२–१३ वर्ष देखि हाम्रो आन्दोलनका अभियन्ता सुनिल बाबु पन्त माथिको निरन्तर गालीगलौज, आक्रमण तथा बिलकुल गलत आरोपहरू दुर्भाग्य पूर्ण छन्,’विज्ञप्तिमा लेखिएको छ,‘जसले परिस्थिति निकै असहज हुँदा, कोही पनि अगाडी नआएको बेलामा यो अभियान सुरु गरेर अभियानलाई उचाइमा पुर्‍याउनु भयो, कति जोखिमहरू थिए होलान् त्यति बेला, साहसका साथ र सबैका साथ सफलता तिर अगाडी बढाउनु भयो अभियान लाई।’  

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पारलिंगी पहिचान पश्चिमा दर्शनबाट आयातित भएको उल्लेख गरेका छन्। ‘तेस्रो लिङ्गीको अस्तित्व नस्विकार्ने तिमीले, वहाँले ‘पारलिंगी पहिचान पश्चिमा दर्शनबाट आयातित हो, हाम्रो स्थानीय पहिचान राम्रो छ, व्यवहारिक छ’ भन्दा वहाँलाई ‘ट्रान्सफोविक’ भनेर गाली गर्ने तिमीहरू, तेस्रोलिंगीको अस्तित्व नस्विकार्ने तिमीहरू चाहिँ ‘थर्डजेन्डरफोबिक’ भयौ कि भएनौ त?’समुदायले प्रश्न समेत गरेको छ।   

थर्डजेण्डरफाबिकहरुले तेस्रो लिङ्गी शब्द लेख्ने पत्रकारहरूलाई समेत गालीगलौज गर्दै आएका छन्। पत्रकारहरूलाई माफी माग्न लगाउने, निजामती कर्मचारीहरूको सातो लिने र साइबर सेना लगाएर धम्क्याउने घटिया काम अब बन्द गर्न समुदायले भनेको छ। ‘सुनिल बाबु पन्त सहनशील हुनुहुन्छ, तर यसरी अभियानलाई नै नोक्सान हुने गरेर जे क्रियाकलाप भइराखेका छन् ती गलत भई राखेका छन्। ‘तेस्रो लिङ्गी’ शब्द लेख्यो भनेर पत्रकारहरूलाई गालीगलौज गर्ने, माफी माग्न लगाउने, निजामती कर्मचारीहरूको सातो लिने, अलग विचार राख्दैमा वा प्रश्न सोध्दा समेत ‘साइबर सेना’ लगाएर धम्क्याउने, उत्पीडन दिने निकै घटिया कार्य अब बन्द हुनु पर्छ,’अध्यक्ष गुरुङ्गले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘ट्रान्सफोविक’ सँग काम नगर्नु भनेर डोनर तथा समुदायका साथीहरूलाई समेत ‘मायाको पहिचान नेपाल’ सँग काम नगर नत्र जागिर खाई दिन्छु वा कार्यक्रम रोकी दिन्छु भनेर तपाईँहरूले दिने गरेको दबाब र धम्की बन्द गर्नुस्, हामीले पनि ‘थर्डजेन्डरफोबिक’ सँग काम नगर भनेमा कसो होला।’ 

माया गुरुङ्ग

मायाको पहिचान नेपाल

लाजिम्पाट, काठमाडौं।

संम्बन्धित समचार

Leave a Reply