विश्व युवा सम्मेलनः हामी संगै भविष्यको सुरुवात गर्न सक्छौँ ?

राज ढुंगाना

नेपालबाट रसियाको प्रमुख पर्यटकिय शहर सोचीतर्फ उड्नैलाग्दा मेरो मनमा एउटा कौतुहलता थियो । विश्वको सबैभन्दा बढी नागरिक भएको देश भारतका चर्चित शहरहरु बैङ्गलोर र राजधानी दिल्लीे यात्राको लामो ग्यापपछि म बिश्वकै सबैभन्दा ठुलो देश रसिया प्रस्थान गर्न लागेको थिँए । त्यो पनि विश्वभरबाट आउने युवा नेताहरुको जमघट रहने कार्यक्रम विश्व युवा सम्मेलन (पर्व)मा सहभागी हुन । यता रसिया जानुभन्दा अगाडी विश्व युवा महोत्सवको तयारीको एक भागको रूपमा, सहभागी देशहरूमा राष्ट्रिय तयारी समितिहरूको तयारी तिव्र थियो । सो समितीको नेपालतर्फ अध्यक्ष युवा नेता सुदिप शर्मा रहेका थिए । नेपालबाट सम्पुर्ण सहभागीहरुको सुची बनाउनेदेखि लिएर हवाई यात्राको चाँजोपाँजो,होटल व्यवस्थापनमा सुदिप जी थिए । उनले नै खासगरी नेपाली पत्रकारितामा सक्रिय भएकै कारण मेरो नामलाई अनुमोदन गरेको कुरा थाहा पाएपछि खुसी नहुने कुरै भएन् । यतिका देशबाट सहभागी आउने कार्यक्रममा पत्रकारिता क्षेत्रबाट मेरो नाम सिफारिस गर्नुभएकोमा सुदिप जी लाई धन्यवाद नदिरहन सक्दिन । म खासमा नेपाली पत्रकारितामा सक्रिय भएको हिसावले मैले सोची उड्नै लाग्दा फर्केपछि रसिया,सोची र कार्यक्रमका सन्दर्भमा केही लेख्नैपर्छ भन्ने लागेको त थियो नै अनुभव बाँड्नु पनि शिक्षा आर्जन गर्नु हो भन्ने मेरो मनमा परेको थियो । हामी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुवईको शारजह अन्तराष्ट्रिय विमानस्थलको लागि फेव्रवरी ७ को साँझपख फ्लाई दुवईमा यात्रा गर्यौँ । त्यहाँ केहि घण्टाको बसाई पछि हामी फ्लाई इमरेट्स हुँदै रुसको राजधानी मस्को उड्यौँ । दिँउसोको समय १ बजे हामी मस्को अवतरण गर्नै लाग्दा विमानस्थल वरीपरी सबै हिँउले ढाकिएको, विमानस्थलको धावनमार्ग र पार्किङमा बाहेक सबै स्थानमा हिँउ ! हुन त रसियामा ६ महिना हिँउले नै ढाक्ने गर्दछ । रसियाको सबैभन्दा ठुलो शहर मस्कोको डोमोडेडोभो अन्तराष्ट्रिय विमानस्थल ओर्लिएपछि नै मेरो दिमाखमा लाग्यो बर्षमा यति लामो समय हिँउले ढाक्ने यो विमानस्थल र राजमार्गमा हिँउको व्यवस्थापन गर्न राज्यले कसरी पैसा र जनशक्ति प्रयोग गर्ला ? त्यसमाथी दुईवटा धावनमार्गबाट हुने निरन्तरको उडान-अवतरणको चाप । एकजना साथी भन्दै थिए, “हाम्रो देशको बजेटभन्दा बढी त यो देशले हिँउ पन्छाउनै खर्च गर्छ । “१४ करोड ७१ लाख जनसंख्या भएको रसिया यतिबेला युक्रेनसंग युद्ध लडिरहेको छ । नाटोमा युक्रेन सहभागी भएपछि हत्याराहरुको समुहको संज्ञा दिएको नाटोमा युक्रेन सहभागी भएपछि रुस आक्रोशित हुँदै हमलामा उत्रिएको हो । यद्यपी पछिल्लो समय नेपालमा जति हल्ला गरिएको जस्तो रुसमा कुनै किसिमको अशान्ती भने थिएन् । मस्कोबाट सोची लाग्दैगर्दा मैले सोचे यत्रो ठुलो देशमा यती थोरै जनसंख्या छ, योजनाकृत र व्यवस्थित बसोबास छ, यदी हिँउमात्रै यो देशमा नपर्ने भएको भए मान्छे कति हुन्थे होलान् ? १ करोड ७० लाख ९८ हजार २ सय ४६ वर्ग किलोमिटर क्षेत्रफल भएको देशमा अथाह स्रोत छ । रसिया विश्वकै सबैभन्दा धेरै स्रोतहरु भएको देश हो ।

सोची ओर्लेपछि…..

हामी काठमाडौँ, दुवई हुँदै मस्कोबाट सोची शहर पुगेको थियौँ । धेरै समयको ट्रान्जिट र प्लेनको लामो यात्राका कारण ज्यान थकित थियौँ । तर जव सोची अन्तराष्ट्रिय विमानस्थल ओर्लेर हामी होटलतर्फ अघि बढ्यौँ त्यहाँको चिसो हावा,वरीपरी हिँउले ढाकिएको पहाड, छेउमै रहेको ब्ल्याक सी,सफा रोड, चिटिक्क एकनासका मिलेका घरहरुले मेरो मन पुलक्कित भैहाल्यो । विमानस्थलमा ओर्लेपछि नै गेटमा कार्यक्रमका स्वयमसेवकहरु हामीलाई स्वागत गर्न बसिरहेका थिए । हाम्रो मन भन्दा उनिहरुको मन खुसीले नाचिरहेको थियो । किनकी उनिहरु कार्यक्रमलाई सफल पार्न उत्साही भएर आएका पाहुनाको लागि खटिरहेका थिए ।नेपाली प्रतिनिधिलाई सहजता तुल्याउन सोफियाको टोली तयार रहेछ । आयोजकले व्यवस्था गरेको विश्व युवा सम्मेलन (पर्व) लेखेका बसहरु गेट विमानस्थलबाहिर पर्खेर बसिरहेको थियो । हामी त्यही बस चढेर होटल पुग्यौँ ।

एयरपोर्टबाट होटलसम्म पुग्दा मलाई लाग्यो मेरो देश पनि यस्तै धुलो र धुँवामुक्त बनाउन पाए कस्तो होला ? मानिस स्वभावैले सफा ठाँउमा बस्न र सफा हावा लिन चाहन्छ । यदी सफा ठाँउ र स्वस्थ हावामात्र भयो भनेपनि नागरिकको ५० प्रतिशत आवश्यकता पुर्ती हुन्छ जस्तो मैले अनुभव गरे । सफा बसाई र स्वस्थ हावा भयो भने तपाई आफै बुझ्नुहुनेछ हामी कति धनि हुनेछौँ । राज्यले आफ्नो नागरिकलाई स्वस्थ राख्न सक्यो भने नागरिक कति बलिया हुनेछन,परिवार कति बलियो हुन्छ ? र राज्य कति बलियो हुनेछ ? यसको हिसावकिताव यहाँ गर्नु उपयुक्त नहोला । त्यसैले त संसारभर पहिलो आवश्यकता बनेको छ सरसफाई र स्वस्थ हावा ।

विश्व युवा सम्मेलनको जादुमयी उद्धघाटन

विश्व युवा सम्मेलनको उद्धघाटन सत्र मार्च १ को साँझ ६ बजे थियो । हामी बेलैमा नेपाली टोलीलाई बस्न दिएको सिटमा सिटनम्बर अनुसार बस्यौँ । आयोजकले प्रत्येक सहभागीलाई सिट नम्बरसहितको बस्ने व्यवस्था गरेको थियो । जब उद्धघाटन सत्र सुरु भयो । त्यसपछि हामी चकित भयौँ, वाह कार्यक्रम ! यस्तो पो उद्धघाटन । लाग्थ्यो, त्यहाँ सबै आएका अतिथी र देखाइएको दृश्यमा मान्छे होइनन् कुनै मेशिन छ । सबै मेशिन अनुसार हिँडिरहका छन्,बसिरहेका छन्, उडिरहेका छन् ।

विश्वभरबाट १ सय ९० देशका १५ हजार युवा र रसियाकै विभिन्न राज्यबाट आएका १० हजार गरी २५ हजार प्रत्यक्ष सहभागी र अन्य गरी कार्यक्रम स्थल ओलम्पिक हाउसमा झण्डै १ लाख मान्छे सहभागी थिए । कार्यक्रममा प्रयोग गरिएका लाइट, मञ्चको एआई स्टाइलको व्यवस्थापन,एआईमार्फत देखाइएका अनेकन शो ले उपस्थित सबै एकाग्र भएर नजर लगाइरहेका थियौँ । खासमा पृथ्वी र मानिसको सम्बन्धसंगै पछिल्लो समय विकसित प्रविधिलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भनेर सम्मेलनले प्रष्ट झल्काएको थियो ।

शक्तिशाली राष्ट्रपति पुटिनको सम्बोधन

रुसी राष्ट्रपतिले विश्व युवा सम्मेलनको समापन समारोहमा जोडदार भाषण गरे । विश्वको शक्तिशाली नेताको रुपमा चिनिएका नेता पुटिनले अन्तराष्ट्रिय मामिलाको बर्तमान अवस्था र अन्य भुराजनितिक अभिनेताहरुसंग मस्कोको सम्बन्धका विशेषताहरुमा सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए । उनले विश्व युवा सम्मेलनमा प्रतिनिधि पठाउने देशको संख्यालाई रुसले स्वागत गर्ने तर रुसले कसैसंग प्रतिस्पर्धा भने नगरेको उनको जिकिर थियो । राष्ट्रपति पुटिनले रसियामा भएको विश्व युवा सम्मेलन २०२४ जस्तै नयाँ युवा महोत्सव आयोजना गर्ने सम्भावनासमेत रहेको बताएका थिए । उनले विभिन्न देशको युवाहरुको जमघटले ती देशहरुसंगको सम्बन्धलाई बलियो बनाउने बताएका थिए ।

पुटिनले विश्वमा सबैको लागि समान अवस्था सिर्जना नहुने भन्दै यो विश्वको बर्तमान अवस्थाको मुख्य अन्याय भएको समेत बताए । विश्वका सबै संगै हिँड्न आवश्यक भएको उनको भनाई थियो । छोटो मन्तव्य दिएका पुटिनले पछिल्लो राजनितिक घटनाक्रमतर्फ संकेत गर्दै अमेरिका नितिको खुलेर विरोध गरेका थिए । उनले अमेरिकाको एकाधिकार नितिलाई विश्वका अधिकांश नेताले मन नपराउने समेत बताएका थिए । पुटिनले विश्वभरका युवाहरु माझ निकै रसिलो जवाफसमेत दिए थिए । भाषणको अवधिभर हुटिङले भरिएको हलमा युवाहरुले विश्वका शक्तिशाली नेताको भाषण निकै नै उत्सुकतापुर्वक सुनेका थिए ।

स्वयमसेवकको प्रशंसायोग्य इमान्दार दौडधुप

सोचीको सिरसमा भएको विश्व युवा सम्मेलनमा सबैभन्दा मलाई मन छोएको स्वयमसेवकले गरेको सहयोग र उनिहरुको खटाईलाई मैले ज्ञान र अनुभवको रुपमा लिएको छु । सयौँको संख्यामा भएका स्वयसेवकले सात दिनसम्म दिनरात नभनी विभिन्न देशबाट आएका पाहुनाको स्वागत,उनिहरुको बसाई व्यवस्थापन,खानपानको रेखदेख,कार्यक्रम स्थलसम्म पुग्न स्टेशनपिच्छे सहजिकरण र कार्यक्रम स्थलमा सुचना प्रवाहको काम यत्ती इमान्दार भएर गरिरहेका थिएकी विश्वका स्वयसेवकको लागि एउटा गतिलो पाठ मात्रै थिएन दिएको जिम्मेवारीलाई अनुशासनपुर्वक कसरी सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरणसमेत पेश गरेका थिए । उनिहरु रातदिन नभनी काम गरिरहेका थिए । बिना पारिश्रमिक त्यस किसिमको खटाई आजको दिनमा विरलै हुने गर्दछ ।

नेपालजस्तो मुलकमा त यस्तो किसिमको स्वयमसेवा आजको दिनमा विशेष महत्व राख्ने गर्दछ । स्वयसेवीहरु एयरपोर्ट, सडकपेटी, खाना खाने स्थल,बसस्टप,कार्यक्रम स्थलमा घण्टौ उभिएर सेवा दिइरहेका थिए । उनिहरुमा कुनै किसिमको थकाई वा अल्छिपना देखिन्न थियो । जसले गर्दा सहभागी थप उत्साहीत रहेका थिए । हरेक देशका प्रतिनिधिहरुको लागि स्वयसेवकको विशेष टोली निर्माण गरिएको थियो । जसले गर्दा उनिहरुलाई प्रत्येक दिनको कार्यक्रम तालिका,परिचयपत्र व्यवस्थापन,खानाको व्यवस्थापन र होटलको व्यवस्थापन गर्न सहज भएको थियो । यतिसम्मकी कार्यक्रममा सहभागीलाई भन्दा बढी चिन्ता स्वयमसेवकलाई थियो भन्ने आभाष हुन्थ्यो । रसिया यात्रामा हामीलाई थप रोमाञ्चक र व्यवस्थित बनाउन खट्ने सम्मेलनका स्वयसेवकहरु डारिया बोरोड्किना, सोफिया,एलेक्जेण्ड्रा कोनोभालोभा,एलेक्जेण्ड्रा,गाव्रियल चुङ लगायत सम्पुर्ण स्वयमसेवकहरुमा मेरो मनैदेखि सम्मान र स्नेह निरन्तर रहनेछ ।

युवा सम्मेलनले दिएको सन्देश

विश्व युवा सम्मेलन खासमा युवाहरुको खुल्ला संवाद र विचार आदानप्रदान गर्ने मञ्च हो । यस कार्यक्रमलाई स्वयम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गर्नु यसको अर्को महत्वपुर्ण विषय हो । विश्वभरका युवाहरुलाई जमघट गराएर एक अर्काबीच अन्तरघुलन गर्ने महत्वपुर्ण प्लेटफर्म समेत रहेको मैले बुझे । नमुना डब्लुवाईएफ अन्तराष्ट्रिय विमानस्थलमा सम्मेलनका मुख्य आर्कषकको रुपमा लाइब्रेरी,रुसी इतिहास,विभिन्न विषयमा भएका समुहगत छलफल,यूरोप र एशियाबीचको सम्बन्धबारे गरिएको विशेष छलफल,थ्रिडी शोबाट हामी अत्याधुनिक प्रविधिमा छौँ तर यसको सदुपयोग विश्वका सबै देशले समान र संगै गर्न पाउनुपर्छ भन्ने निष्कर्ष मेरो रहयो । आजको दुनियामा विश्वको दृत विकासमा कोही छु्ट्न हुन्न र यसमा सबै संगै जानपर्छ भन्ने रुसी राष्ट्रपति पुटिनको सम्बोधनले त झन विश्वका युवाहरुलाई फेरि एक ठाँउमा ल्याएको ठम्याउन सकिन्छ । १ सय ९० भन्दा बढी देशका युवा नेताहरुको जमघट साच्चै नै सम्मेलनको नाराले “संगै भविष्यको सुरुवात गरौँ” भनेजस्तै आम युवाहरुको सोच,खोज र नविनतासंगै लैजान मद्धत गर्नु हो । तर विश्वमा भैरहेको समुहगत राष्ट्रहरुको वैमनश्यता,आपसी द्धन्द, शक्तिराष्ट्रको असिमित स्वार्थ, विश्वमा देखिएको गरिब र धनीबीच दुरी र बढ्दो प्रविधि प्रतिस्पर्धाले के हामी विश्व युवा सम्मेलनले भनेजस्तो संगै भविष्यको सुरुवात गर्न सक्छौ त ? भन्ने तिखो प्रश्नबाट भने भाग्न सक्दैनौँ । यसको जवाफ आजका युवाहरुको एकता,सहकार्य र सहअस्तित्वको मर्मबाट मात्रै दिन सकिन्छ ।

संम्बन्धित समचार

Leave a Reply