चैत्र २, हेटौंडा । तेस्रो संस्करणको ‘६ ए रिभर साइट क्रिकेट प्रतियोगिता’ मकवानपुरको भीमफेदी गाउँपालिका वडा १ मा हुने भएको छ ।
पत्रकार सम्मेलनमा आयोजकहरूले प्रकृतिक वातावरण संरक्षण गर्न, प्रकृतिमा समाहित हुन र बाह्य माहोलमा घुलमिल गराउन प्रतियोगिताको आयोजना गरिएको जानकारी गराए ।
अनुप प्रसाद सेनुरियाको संयोजकत्वमा हुने प्रतियोगितामा कर्रा सुपर किङ, गोदावरी स्टिल, शुभ डेरी, भ्याबसन क्रिकेट क्लब, निपटा क्रिकेट क्लब र हेटौंडा एकेडेमी गरी ६ वटा टिमले सहभागिता जनाउने छन्। खेलाडी टिमको दर्ता शुल्कबाट प्रतियोगिता आयोजनाका लागि सहयोग जुट्नेछ।
पिकनिकको ढङ्गले सञ्चालन हुने प्रतियोगितामा खेलाडीहरूलाई निशुल्क खाना र नास्ताको व्यवस्था मिलाइएको छ । रेड स्वाइल क्रिकेट क्लबको आयोजना र मकवानपुर जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।
लिग प्रणालीमा हुने प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट बलर, ब्याटर र प्लेयर अफ द सिरिजलाई पनि पुरस्कृत गरिने छ।