नागढुङ्गा सुरुङ्गमार्गको काम सुचारु,स्थानीयको माग सम्बोधन हुने

चैत्र ६,काठमाडौँ । पछिल्लो एक महिनादेखि निर्माण कार्य अवरुद्ध रहेको नागढुङ्गा सुरुङ्गमार्गको काम मंगलबार बिहानदेखि सुचारु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्माका अनुसार सोमबार उपप्रधान तथा विभागीय मन्त्री रघुवीर महासेठको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठकमा आन्दोलनकारी स्थानीयबासीलाई पनि सहभागी गराइएको थियो । बैठकमा स्थानीयबासीहरुले उठाएका मागहरुको बारेमा मन्त्री महासेठले सम्बोधन गर्ने मौखिक सहमति जनाएपछि स्थानीयले तत्कालको लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

स्थानीयले तत्कालका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि मंगलबार बिहानदेखि नै सुरुङ्गमार्गको निर्माण कार्य सुचारु भएको सचिव शर्माले जानकारी दिए ।

उनका अनुसार सुरुङ्गमार्गका निर्माणका कारण स्थानीयको घरसमेत चर्केकाले उक्त चर्केको घरको बिषयमा समेत अध्ययन गर्ने काम भइरहेको छ । घर चर्केको प्रतिवेदन आइसकेपछि स्थानीयले उठाएको मागहरु सम्बोधन गर्न सहज हुने सचिव शर्माले जानकारी दिए ।

नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजनाका प्रमुख नविनमान श्रेष्ठका अनुसार स्थानीयले उठाएका मागहरुमध्ये सम्बोधन गर्न सकिने बिषयको बारेमा अध्ययन गरि बजेट अगावै मन्त्रालयलाई सिफारिश गर्ने सहमति भएको छ ।

स्थानीय बासिन्दाले सुरुङ्गमार्ग निर्माण क्षेत्रमा असर परेकाले उक्त क्षेत्रलाई प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने, डिप बोरिङ्गसहितको पर्याप्त परिमाणमा खानेपानीको व्यवस्था गर्नुपर्ने, खेतीयोग्य जमिनमा सिंचाईको व्यवस्था गर्नुपर्ने, चर्केका घरहरुको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन् ।

यस्तै सुरुङ्गमार्ग माथिको जमिनको उचित सम्बोधन गर्नुपर्ने र प्रभावित क्षेत्रको बासिन्दालाई रोजगारीे सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखेर गत फागुन ६ गतेदेखि निर्माण स्थल अवरुद्ध गरी चरणवद्ध आन्दोलन गरिरहेका थिए । यो आन्दोलनका कारण एक महिनादेखि सुरुङ्गमार्गको सम्पूर्ण काम अवरुद्ध भएको थियो ।

स्थानीयले नागढुङ्गा सिस्नेखोला सुरुङ्ग मार्ग प्रभावित खानेपानी उपभोक्ता समिति गठन गरि आन्दोलन गर्दै आएका थिए ।
स्थानीयको आन्दोलनका कारण फागुन २३ गते गर्ने भनिएको सुरुङ्गमार्गको अन्तिम ‘ब्रेक थ्रु’ पनि रोकिएको थियो । कूल २ हजार ६ सय ८८ मिटरको मूल सुरुङ्ग मार्गमध्ये हालसम्म २ हजार ६ सय ७४ मिटर खन्ने काम सम्पन्न भइसकेको थियो । फागुन २२ गतेभित्रमा खन्न बाँकी रहेको जम्मा १४ मिटर खनेर २३ गते ब्रेक थ्रु गर्ने लक्ष्य निर्धारण गरिएको थियो ।

सन् २०१९ सेप्टेम्वर २३ मा जापानको हाजमा एण्डो कर्पोरेशनसँग भएको सम्झौताअनुसार निर्माण सुरु भएको ४२ महिनामा यसको निर्माण सम्पन्न हुनुपर्ने थियो ।

त्रिभुवन राजमार्गको धादिङ्गको सिस्ने खोलादेखि सुरु भएको उक्त सुरुङ्गमार्ग काठमाडौंको चन्द्रागिरी वडा नम्बर २ को किसिपिडिसम्म अवस्थित छ ।

आयोजनाका अनुसार सन् २०१६ मा जापान सरकारसँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएर सरकारले यो आयोजना सुरु भएको थियो । यसको कूल लागत भने २२ अर्ब छ । अहिलेसम्म मुआब्जामा ६ अर्ब रुपैयाँ रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।

आयोजनाले माघसम्ममा ७२ प्रतिशत भौतिक प्रगति र ६५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । विभिन्न अवरोधका कारण म्याद थपपछि अहिले निर्माण सम्पन्न गर्ने अवधी २०२४ अप्रिल २५ तारिख तोकिएको छ ।

२ हजार ६ सय ८८ मिटर लम्बाईको यो सुरुङ्गमार्ग ३।५ मिटर चौडाई भएको दुई लेनको निर्माण भइरहेको छ । यो मार्गमा आपतकालिन उद्दार प्रणाली समेत निर्माण हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply